जनकपुरधाम,मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उहाँले पाँच जना सांसदलाई कारबाही गर्नुभएको छ ।लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले बिहीवार पाँचजना सांसदलाई पदमुक्त गर्नुभएको हो ।पदमुक्त हुनेहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह (सर्लाही), जसपा नेपालका मनिषकुमार सुमन (सप्तरी), संजयकुमार यादव, सर्लाही, ३ (२), सिंहासन सा कलवार, पर्सा, ४ (२) र सारदा शंकर प्रसाद कलवार, बारा, २ (१) रहेका छन् ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ । सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ ।सभामुख मण्डलले सूचना निकालेर उनीहरूलाई पदमुक्त गरिएको जानकारी गराउनुभएको हो ।
सूचनामा भनिएको छ, ‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकूल आचरण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएपछि झडपसमेत भएको थियो ।प्रदेश सांसद राजु गुप्ता, महेश यादव र उपेन्द्र महतोलाई प्रदेश सभाभित्र कुटपिट गरिएको माओवादी केन्द्र संसदीय दलका नेता भरत शाहले बताउनुभयो । उहाँका अनुसार बाहिरको बत्ती अफ गरिएको छ भने प्रहरीहरू तैनाथ छन् ।सभामुखको बचाउमा गएका नेकपा एमालेका सांसदहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबिच झडप भएको थियो ।माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ७४ सांसदको हस्ताक्षरसहित सभामुख मण्डलले प्रदेशसभामा पदअनुकूल आचरण नगरेकोसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।

















