नरेश गुप्ता,
बरियारपुर,बिवाहाको प्रलोभनमा पारेर १० वर्षदेखि संगै बसेका प्रहरी जवान बेपत्ता बनेपछि बारामा एक महिला अलपत्र परेकी छिन । महागढीमाई नगरपालिका वडा नम्बर ९ घर भएका प्रहरी जवान निरञ्जन यादबले सोही ठाउँकी दलित महिला सरिता देबी रामलाई दोस्रो बिवाहा गर्ने प्रलोभनमा पारेर १० वर्षसम्म आफूसंगै राखेर अहिले बेपत्ता हुन । यादबले २० लाख रुपैयासमेत ठगी गरेको पीडित महिलाले बताएकी छिन ।
सरिताको १० वर्षअघि सोही ठाउँ निवासी रघुवीर रामसंग मागी बिवाहा भएको थियो । बिवाहालगत्तै यादबले सरितालाई वीरगन्ज लगेर आफूसंगै कोठामा राखेका थिए । हाल भने प्रहरी जवान यादब महिलालाई छोडेर बेपत्ता बनेको सरिताको भनाइ छ । ‘बिवाहा गर्छु भनेर दस वर्षसम्म संगै राखे, उनले भनिन, श्रीमान् रघुवीरले बिदेशबाट पठाएको २० लाख रुपैया पनि ललाइफकाइ गरेर लगे ।’
पीडित महिलाले जिल्ला प्रहरी कार्यलय बारा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा समेत प्रहरी जवान यादबलाई बोलाएर छलफल गराउन पटकपटक निवेदन दिएको भएपनि प्रहरीले अझैसम्म चासो नदेखाएको बताइन । दलित समुदायको महिला भएकै कारण यादबको परिवारले आफ्नो घरमा बस्न नदिएको उनले बताएकी छिन । यादबको घरमा गएर बस्न खोज्दा परिवारका सदस्यले कुटपिट गरेको उनले सुनाइन । सरिताका आफन्तले घर बस्न नदिएर कुटपिट गरेको, २० लाख रुपैया फिर्ता नदिएको र बिचल्लीमा पारेको भन्दै यादबमाथि कारबाहीको माग गर्दै शुक्रबार प्रहरी चौकी तेलकुवामा जाहेरी दिएका छन ।
यादवले पीडित महिलालाई वीरगन्ज र कलैयास्थित पन्नाबागमा कोठा भाडामा लिएर बिगत दश वर्ष देखिसंगै राख्दै आएका थिए । प्रहरीले नै दलित महिलालाई यौन शोषण गरि बिचल्लीमा पारेको भन्दै स्थानीय महिलाहरुले दोषिमाथि कारबाहीको माग गरेका छन ।
प्रहरी जवान यादब वीरगन्जस्थित विपद् व्यवस्थापन गुल्ममा कार्यरत छन ।