निजगढ,‘काम गर्ने हनुमान पगरी गुथ्ने ढेडु’ यो नेपाली उखान यतिबेला फेरि बारा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनको प्रचारमा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले चरितार्थ गर्नुभएको छ ।

नेपाली कांग्रेशबाट उम्मेदवार बन्नुभएका खाने पानीमन्त्री चौधरीले चुनाव प्रचारको क्रममा तामागढी–सिम्रौनगढ सडक आफ्नो पहलमा निर्माण भएको दाबी गर्दै हिडन थालेपछि यो उखान चरितार्थ भएको हो । सडक निर्माणको पक्षमा सक्रिय देखिएका नेकपा एमालेका नेता तथा स्थानीय कार्यकर्ताहरु माथि मुद्दा लगाउने र निर्माण कार्य रोक्न विभिन्न अडचन खडा गर्नेहरुले नै हाल सडक निर्माण भएपछि ‘झुटको खेती’ गरेर जस लिन खोजेको सर्वसाधारणले टिप्पणी गरेका छन ।

बारा जिल्लाको व्यापारिक र सामाजिक दृष्टिले पनि अति महत्वपूर्ण रहेको यो सडक एमालेका नेता एंव तत्कालिन प्रतिनिधि सभा सदस्य मुकुन्द न्यौपानेको पहलमा केन्द्रीय योजनामा समावेश भएको थियो । तत्कालिन निर्माण तथा यातायात मन्त्रालयमा सांसद न्यौपानेले दिएको निवेदनको आधारमा मन्त्रालयले तामागढी–सिम्रौनगढ सडकलाई २०५२ सालअसार ५ गते केन्द्रीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो । तर कांग्रेशका केही नेताहरुले वन फडानीको कुरा देखाएर सडक निर्माणमा अवरोध गरेपछि हाल नेकपा एमालेबाट बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली सहित कोल्हबी क्षेत्रका तत्कालिन जनप्रतिनिधिहरुको सक्रियतामा रुख र बुट्यान फडानी गरेर बाटो खन्ने काम गरिएकोे हो ।

यसअघिको पुरानो सडक वर्षाको भल पानी बगेर खोल्छी जस्तो गहिरो बनेपछि पुरानो बाटोको छेउबाट पूर्वतर्फ हाल चलन चल्तिमा रहेको नयाँ सडक निर्माण गरिएको हो । बाटो निर्माण गर्न कोल्हबी क्षेत्रका हजारौ सर्वसधारण घरघरबाट निस्किएर जंगलमा आएका थिए । ठूला रुख जोगाउने क्रममा सो सडकको तामागढी–भलुहीखोर खण्डको जंगल क्षेत्रको केही स्थानमा सडक घुमाउरो बन्न पुगेको हो ।

सडकको रेखाङ्कनमा परेका झाडी, बुट्यानर केही रुख समेत स्थानीयले काटेपछि कांग्रेश कार्यकर्ताहरुले एमाले उम्मेदवार मैनालीसहित सांसद न्यौपाने, तत्कालिन जिल्ला विकास समितिका सभापती छठुप्रसाद यादव, छविलाल उप्रेती, तत्कालिन सपही गाविसका अध्यक्ष स्वर्गीय भगवान पौडेल, उपाध्यक्ष रवि चौधरी, कोल्हबीका अध्यक्ष राजहरण चौधरी, रामपुर्वा गाविस अध्यक्ष दामोदर चौधरी, अमावका अध्यक्ष सुरेन्द्र चौधरी लगायत दर्जनौं जनप्रतिनिधि र समाजसेवीहरु विरुद्ध ०५४ सालमा वन मुद्दा समेत दायर गरेका थिए । सोही क्रममा सडक खन्न भनेर विभागबाट ल्याइएको एक थान डोजर तत्कालिन निर्माण तथायातायात मन्त्री खुमबहादुर खडकाको निर्देशनमा फिर्ता गर्न समेत लगाइएको थियो । वन विभागले जनप्रतिनिधिहरुको सक्रियतामा सडक निर्माणको लागि रुख फडानी भएको पाइएको भन्दै नचल्ने निर्णय गरेपछि सो मुद्दा पछि निष्कृय भएको थियो । सोही समयदेखि निर्माण प्रकृयामा रहेको सो सडकको टेडाकट्टी क्षेत्रमा पर्ने करिव ५ सय मिटर क्षेत्र बाहेक हाल कालोपत्रेसमेत भइसकेको छ ।

आफूले अवरोध गरेको सडक हाल आफैले निर्माण गरेको भनेर मन्त्री चौधरीले जनतामा भ्रम सृजना गर्न खोजेको एक स्थानीयले बताएका छन । ‘जसले जसरी भ्रम दिन खोजे पनि केही फरक पर्दैन, उनले भने, तामागढी–सिम्रौनगढ सडक निर्माणको ‘कथा’ मा जनता आफै साक्षी छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here