आरके चौधरी
पर्सा, फागुन ११ ।  पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दिपनारायण पञ्चगावा बहुमुखी कलेजमा बीपीएएम (Bachelor of Public Administration and Management) कक्षाको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ । २०८२ फागुन ११ गते आयोजित समारोहले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ उत्साह थपेको छ ।

कलेज प्रशासनका अनुसार बीपीएएम कार्यक्रम सञ्चालनका लागि मधेश प्रदेश विश्वविद्यालयबाट औपचारिक इजाजत प्राप्त भइसकेको छ । यससँगै ग्रामीण भेगका विद्यार्थीहरूले आफ्नै क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउने भएका छन् ।

अब सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषय अध्ययन गर्न बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

कार्यक्रम वडा नं. २ का अध्यक्ष एवं कलेज व्यवस्थापन समिति अध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कलेज प्रमुख शिवनाथ चौधरी, व्यवस्थापन समिति सदस्यहरू देवकी चौधरी र रामकिशोर चौधरी थारु, कलेजका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । मधेश प्रदेश विश्वविद्यालयका डिन डा. अन्नजै मिश्रको विशेष उपस्थितिमा कलेजको नाम उच्चारण गर्दै बीपीएएम कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

आफ्नो मन्तव्यमा डा. मिश्राले सार्वजनिक प्रशासन र व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न बीपीएएम कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । ग्रामीण भेगमै यस्तो शैक्षिक कार्यक्रम सञ्चालन हुनु प्रदेशकै लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।

Leave a Reply