सिमरा,गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्माले निजी क्षेत्रको साथ बिना देशको उद्योग पर्यटन क्षेत्रको विकास नहुने बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री शर्माले निजी क्षेत्रलाई साथमा लिएर जाने की नजाने भन्ने दुई पक्षबीचको द्वन्द्वको भासमा अहिले मुलुक गएको बताउदै निजी क्षेत्रलाई प्रोत्साहन नगरी राज्यको आर्थिक विकास हुन नसक्ने बताउनु भएको हो । राष्ट्र बैंकले अहिले ल्याएको मौद्रिक नीति अझै अपुग रहेको बताउदै साना व्यावसायीहरुको लागि मौद्रिक निजीले सम्बोधन नगरेको बताउनुभयो । पोखरा– सिमरा हवाई उडान सेवाले सदियौंदेखिको तराई पहाडको सम्बन्धनलाई थप मजबुद बनाउने काम गरेको मन्त्री शर्माले धारणा व्यक्त गर्नुभयो । उहाँले पर्यटक र पाहुना फरक भएको हुँदा पाहुनाले मात्रै पर्यटनको विकास नहुने भएकोले पर्यटनको विकासका लागि पर्यटकलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । राज्यले कर असुलेर मात्रै नहुने र त्यसको व्यवस्थापन, सामाजिक सुरक्षा तथा व्यवसायमैत्री बनाउने राज्यको दायित्व भएको बताउनुभयो । उहाँले पर्यटनसँगसँगै नवप्रवर्तनको पनि आवश्यकता रहेको औंल्याउदै नवप्रवर्तन विना पर्यटन विकास असम्भव रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठले संघीय सरकारले प्रदेश नम्बर २ मा रहेको बाराको सिम्रौनगढ ऐतिहासिक क्षेत्रलाई नेपालको भू–भाग होइन जस्तो गरेर बजेट समेत नदिएको गुनासो गर्नुभयो । उहाँले प्रदेशको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र निर्माण भएका पूर्वाधारहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले वीरगन्ज लगायत प्रदेश नम्बर २ मा धेरै ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलहरु रहेकोले यसको समग्र विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघको पर्यटन तथा हवाई यातायात समितिका संयोजक अनोज रुंगटाको अध्यक्षतामा भएको कार्यक्रममा ट्राभल तथा टुर्स एसोसिएसन नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाँई, पोखराका बरिष्ठ उपाध्यक्ष हरिराम शर्मा, पोखरा टुरिज्म परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम, माधव राजपाल, नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply