वीरगञ्ज,वीरगञ्जका चर्चित व्यवसायी तथा उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा, यश ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल टेमानी सवार कारको ठक्करबाट जीतपुरमा एक युवकको मृत्यु भएको छ ।
सिमरा प्रहरीले जनाएअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी करिब ४५ वर्षीय रामबालक सहनीलाई बा ०१०३३ च २४८१ नम्बरको कारले जीतपुर केरा ढोका नजिक ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रबन्ध निर्देशक टेमानी हाल ईलाका प्रहरी कार्यालय सिमरामा रहेको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बुझिएको छ । दुर्घटनापछि सडकमा सर्वसाधारणको ठूलो भीड जम्मा भएपछि कुटपिट हुनसक्ने डरले गाडी चालक कृष्णा यादव फरार भएका थिए । केही समयपछि चालक यादव पनि प्रहरीको सम्र्पकमा पुगेका हुन ।
यसैबीच, यश अग्रवालका पिता अशोक टेमानीले आफ्नो छोरालाई प्रहरीले अनाहकमा नियन्त्रणमा लिएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार दुर्घटनाको समयमा घटनास्थलमा भीड जम्मा भएको थियो र कुटपिटको डरले गाडी चालक कृष्णा यादव फरार भएका थिए । त्यसै कारण प्रहरीले चालकको सट्टा आफ्नो छोरालाई नियन्त्रणमा लिएको हुनसक्ने उहाँको भनाई छ ।
अशोक टेमानीले प्रहरीले कुनै पनि दबाबमा नपरी सत्य–तथ्य छानबिन गरी निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सिमरा प्रहरीले जनाएको छ ।



















