निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको लागि आइतवार फेरि अर्को अभिभावक भेलाको आयोजना गर्न लागिएको छ ।

यसअघि बिहीवार भएको भेलाले व्यवस्थापन समिति गठन गर्न नसकेपछि आइतवारको लागि फेरि भेला ढाकिएको विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले जानकारी दिनुभयो । व्यवस्थापन समितिमा अभिभावकहरु मध्येबाट चयन गरिने २ जना महिलासहित ४ जना सदस्य पदको लागि ४५ जनाले आकांक्षा देखाएपछि गत बिहीवार भएको भेलामा सहमति हुन सकेको थिएन । २ जना महिला सदस्यको लागि सरिता राई र प्रमिला पराजुली नेपालको नाममा सहमति बनेको भए पनि पुरुष आकांक्षीहरुबीच सहमति हुन नसकेको हो ।
अबको भेलामा सदस्य पदका आकांक्षीहरुलाई मात्र राखेर सहमतिको प्रयास गरिने विद्यालयका अभिभावक थानेश्वर सापकोटाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको भेलामा कुनै निर्णय हुन नसकेपछि यसअघि पनि २ पटकसम्म भेला स्थगित गरिएको थियो ।
स्थानीय राजनीतिक दल र अभिभावकहरुबीच सहमति हुन नसक्दा २ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदै आएको छ । व्यवस्थापन समितिको अभावमा विद्यालयको भौतिक निर्माणलगायत अन्य कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।


















