वीरगन्ज,वीरगन्ज लगायतका पर्साका नाकाहरुमा भारतबाट प्रवेश गर्नेहरुको तापक्रम चेकजाच गर्ने लगायतका काम बुधबारदेखि नै शुरु गरिएको छ । भारतमा कोरोना संक्रमण फेरि तिब्र रुपमा फैलिन थालेपछि यसलाइ मध्यनजर गरेर खुल्ला सीमा जोडिएको पर्सामा सतर्कता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले वीरगन्ज लगायतका पर्सा जिल्लाका नाकामा भारतबाट आउनेहरुलाई चेकजाँच गरेर र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको थियो । त्यसका लागि वीरगन्जको इनर्वा नाकामा बुधबारदेखि हेल्थ डेस्क र आवश्यक जनशक्तिको व्यवस्थापन गरेर स्वास्थ्य चेकजाच गर्नुका साथै नाकामा कडाइ पनि गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङ्गले जानकारी दिनुभयो ।
यसअघि पोहोर साल चैतमा वीरगन्जको इनर्वा नाकामा सन्चालन गरिएको हेल्थ डेस्कका लागि विश्व स्वास्थ्य संगठनले दिएको टेण्ट घामपानी र धुलोले जीर्ण भइसकेकाले अहिले अब त्यो टेण्ट काम लाग्ने अवस्थामा छैन । त्यसैले हेल्थ डेस्कका लागि नयाँ टेण्ट नै जोहो गरेर हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताउनुभयो । यसअघिको कोरोना महामारीका बेला नै विश्व स्वास्थ्य संगठनले वीरगन्जको इनर्वा नाकामा सुविधा सम्पन्न पाँच कोठाको आधुनिक हेल्थ डेस्क स्थापनाका लागि वीरगन्ज महानगरपालिकालाई ५० लाख रुपैया दिएको थियो । तर उ बेला विविध कारणले त्यो ५० लाख रुपैयाबाट स्थायी हेल्थ डेस्क निर्माण हुन नसकेको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताउनुभयो । अहिले पनि तत्काल त्यो ५० लाख खर्चेर स्थायी हेल्थ डेस्क बनाइ हाल्ने सम्भव पनि नरहेका कारण टेण्ट नै राखेर अस्थायी हेल्थ डेस्क सन्चालन गरिएको उहाँले जानकारी दिनुभयो । पर्सामा वीरगन्जको इनर्वाका साथै वीरगन्जको इनर्वा नाकामा हेल्थ डेस्क सन्चालनमा ल्याइएको जानकारी दिदै उहाँले वीरगन्जकै बजार छपकैया नाका, एकीकृत भन्सार जाँच चौकी आइसीपी र सिर्सिया सुख्खा बन्दरगाह र भिस्वा नाकामा पनि बिहिबारदेखि हेल्थ डेस्क सन्चालन गर्न लागेको बताउनुभयो । प्रत्येक हेल्थ डेस्कमा स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मीलाइ नेपाल प्रहरी र सशस्त्र प्रहरीले सघाउने प्रमुख जिल्ला अधिकारी तमाङ्गले जानकारी दिनुभयो । भारतबाट प्रवेश गर्ने प्रत्येक व्याक्तिको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले थर्मल गनले तापक्रम नाप्ने र शंकास्पद देखिएका व्याक्तिको मात्रै स्वाब लिएर एन्टीजेन टेष्ट गरिने उहाँले बताउनुभयो ।
अहिले केहि समययता पीसीआर टेष्ट त्यति प्रभावकारी नदेखिएकाले १५ मिनेटभित्रै कोरोना संक्रमण भए नभएको जानकारी दिने एन्टीजेन टेष्ट विधि हेल्थ डेस्कमा लागु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी तमाङ्गले बताउनुभयो । मंगलबार बसेको डिसिएमसीको बैठकले भारतबाट आउदा ट्राभल हिस्ट्री सहितको अभिलेख राखेर मात्र प्रवेश गर्न दिने निर्णय पनि गरेको छ । नेपाल प्रवेश गर्ने बेलामा कोरोनाको लक्षण देखिएकालाई आइसोलेसन सेन्टर वा अस्पताल पठाउने तथा अरुलाई होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने, कोरोनाको नयाँ भेरियन्ट देखिएका राष्ट्रहरुको ट्राभल हिस्ट्री भएकाहरुलाई भने ७२ घण्टाभित्रको आरडीटी÷पीसीआर रिपोर्ट देखाएर प्रवेश अनुमति दिने पनि बैठकले निर्णय गरेको छ । यस्तै मंगलबारको बैठकले नारायणी अस्पतालमा १५ शैयाको कोभिड आईसीयू सञ्चालन गर्ने, केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ बढाउने, सामुदायिक क्वारेन्टिन सञ्चलन गर्ने निर्णय पनि गरेको छ । बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने, उद्योगहरुमा कार्यरत भारतीय कामदारहरु घर गई पुनः उद्योग फर्किदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने, रात्रीकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्नुपर्ने निर्णय पनि गरेको छ । यस्तै पर्सा जिल्लाको कुनै पनि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी सामूहिक भेला हुन निषेध गर्ने, सभा, जुलुस गर्न निरुत्साहित गर्ने निर्णय पनि बैठकले गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै नारायणी अस्पतालले पनि उपचारका लागि तयारी थालेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले हाल अस्पतालमा १० बेडको एचडीयु तयार रहेको र यसलाई २० बेडको बनाउने तयारी गरिरहेको बताउनुभयो । पर्सामा केहि दिनअगाडि पुनः कोरोना सङ्क्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले सीमा नाकामा सतर्कता अपनाउने निर्णयसंगै कडाई पनि गरेको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र समिति पर्साको मंगलबार बसेको बैठकले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई स्वास्थ्य चेकजाचमा कडाई गर्ने निर्णय गरेको थियो । जसअनुसार वीरगन्जको इनर्वा नाकामा हेल्थ डेस्क स्थापना गरि भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई स्वास्थ्यकर्मी र सुरक्षकर्मीले थर्मल गर्नबाट तापमक्रम नाप्ने काम पनि शुरु गरिसकेका छन् ।