सिमरा,होटेल तथा पर्यटन व्यवसायी संघ बाराको चौथो साधारण सभा सिमरामा सोमबार सम्पन्न भएको छ । साधारण सभाको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले पर्यटन प्रवद्धनमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । बारा पर्यटनको हब बन्दै गएको भन्दै उहाँले पर्यटन प्रवद्र्धनको अभियानमा लाग्न व्यवसायीहरुसंग आग्रह गर्नुभयो । कार्यक्रममा संघका सल्लाहकार एवं संविधान सभा सदस्य शोभाकर पराजुलीले पर्यटन प्रवद्र्धन विषयमा राज्यले विशेष नीति ल्याउनुपर्ने बताउनुभयो ।

संघका सल्लाहकार एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले पर्यटन क्षेत्रको विकासमा सबै क्षेत्र र निकाय जोडिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले पर्यटन प्रवद्र्धनमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका संचारकर्मी उपेन्द्र ठाकुर र इमेज टेलिभिजनका प्रकाश लम्साललाई सम्मान गरिएको थियो । संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख नारायण भण्डारी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुवर, नव जनजागृति युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply