वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा फेरि एक युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती घर भएका ३० वर्षीय नजिम मियाँको शव बुधवार बिहान फेला परेको हो ।नगवाको बाइपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फको सडक छेउमा मियाँको शव फेला परेको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले जानकारी दिनुभयो ।सडक छेउमा बुधवार बिहान करिब साढे ७ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी नायब निरीक्षक मल्लका अनुसार मादक पदार्थ सेवन गरेका मियाँ आफैँ लडेर मृत्यु भएको हुन सक्ने अनुमान छ ।मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने प्रहरी नायब निरीक्षक मल्लले बताउनुभयो ।तिन दिनअघि पनि नगवामै एक युवक मृत अवस्थामा फेला परेका थिए ।



















