बारा जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । बाराको भूगोल समान नभएकाले पनि यहाँको प्राकृतिक विविधता र सौन्दर्यता पनि उत्तिकै फरक अनि महत्वपूर्ण रहदै आएको हो । बारामा रहेका प्राकृतिक बस्तुहरुको संरक्षण गर्न सकेको खण्डमा पनि आन्तरिक कमाइ गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् । तैपनि यिनै प्राकृतिक बस्तुहरुको संरक्षण गरिनुको सट्टामा उनीहरुको दोहन गर्ने परिपाटी बसेकाले पनि माल पाएर पनि चाल नपाए जस्तै भएको छ, बाराका कतिपय स्थानीय तहहरुमा ।
निजगढमा रहेको बकैया नदी पनि यसैको एउटा उदाहरण हो । बकैया पनि निजगढको आन्तरिक श्रोत हो । तर, बारामा नदी तथा जंगल भनेपछि मासेर नै सक्नुुपर्छ भन्ने कतिपयको सोच भएकाले पनि यस्ता सम्पत्तिमाथि दोहन हुदै आइरहेको छ । करिब सात वर्षको जनप्रतिनिधिहरुको समयको हिसाव नगर्ने हो भने बारामा यस्ता प्राकृतिक बस्तुहरुको दोहन गर्ने प्रतिस्प्रर्धा नै थियो । जनप्रतिनिधिहरु आएपछि भने केही कम भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारीले मंगलवार मात्रै बकैया नदीको अनुगमन गरेर यसको दोहन रोक्नका लागि निर्देशन दिनुभएको छ । बाराका यस्ता प्राकृतिक सम्पत्तिहरुको दोहनमा कही कतै जनप्रतिनिधिहरुकै संरक्षणमा भएको देखिन्छ । त्यसैले बकैयाको दोहन पनि पुरानै समस्या हो । प्रमुख जिल्ला अधिकारीको तहबाट अनुगमन भएर यस्ता निर्देशन बिगतमा पनि भएका थिए तर कार्यान्वयन फितलो थियो । यसपाली त्यस्तो नहोस् र प्रकृतिको संरक्षण होस् ।














