निजगढ,निजगढ ७ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनको लागि आगामी बैशाख २७ गतेको लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न नसकेपछि निर्वाचन समितिको सोमवार बसेको बैठकले निर्वाचन नै स्थगित गर्ने निर्णय गरेको हो । उपभोक्ता र सरोकारवालाहरुबीच आवश्यक छलफल गरेरमात्रै प्रक्रिया अघि बढाउने गरी हालको लागि निर्वाचनसम्बन्धि सबै प्रक्रिया रोकिएको निर्वाचन समितिका सदस्य एंव निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेलले जानकारी दिनुभयो । सहमतिको लागि निर्वाचन समितिले हिजो र आज पनि गरेको प्रयास विफल बनेपछि समिति निर्वाचन रोक्ने निर्णयमा पुगेको थियो ।

वन समूहको नयाँ कार्यसमितिको लागि गत शनिवार उम्मेदवारहरुले आफ्नो मनोनयन पत्र दर्ता गरिसकेपछि नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएकी पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्रलाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न नसकेको हो ।निर्वाचन समितिमा सम्पर्क गर्न ढिला आएको भन्दै चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग गर्दै कांग्रेस समर्थक उपभोक्ता र उम्मेदवारले नामावली प्रकाशनमा अवरोध गरेका थिए ।
वन समूहको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले, माओवादी र जनमत पार्टीले एमालेका रामप्रसाद ओझाको नेतृत्वमा संयुक्त प्यानल बनाएर मनोनय पत्र दर्ता गरेका छन भने नेपाली कांग्रेशले कमल बजगाई नेतृत्वको प्यानल अघि सारेको छ ।
प्रगतिशील वनमा बैशाख १८ गते मतदान
सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयनको लागि आगामी वैशाख १८ गते मतदान हुनेभएको छ ।वन समूहको अध्यक्ष पदमा अमिताभ चौधरी र सन्तोष दाहालबीचमा प्रतिष्पर्धा हुँदैछ भने दुबैले प्यानलसहित उम्मेदवारी दिएका छन । निर्वाचन समितिले चुनाव चिन्ह प्रदान गरेपछि उम्मेदवारहरु चुनाव चिन्हसहित मत माग्न व्यस्त छन् । अमिताभ चौधरीको प्यानललाई नेकपा एमालेले समर्थन गरेको छ भने सन्तोष दाहाल नेतृत्वको समूहलाई नेकपा माओवादी र नेपाली काँग्रेसले साथ दिएका छन ।

Leave a Reply