सिमरा,प्रदेश २ सरकारले बाराको पथलैयादेखि अमलेखगञ्जसम्म १० किलोमिटर पाइपलाइन मार्फत खानेपानी लैजाने योजना सुरु गरेको छ ।
चुरेको फेदमा अवस्थित अमलेखगञ्जमा १ सय ५० फिटसम्म पानीको सतह नभेटिएपछि बोरिङ गाड्न सम्भव नभएकाले पाइपलाइन मार्फत पानी लैजान प्रदेश सरकारले काम सुरु गरेको हो । प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।
भारतका दक्ष प्राविधिकहरूबाट सम्भाव्यता अध्ययनका साथै सर्भे र नक्सांकन सम्पन्न गराएको मन्त्रालयले जनाएको छ । अमलेखगञ्जको लागि मात्रै पथलैयामा नयाँ बोरिङ गाडेर १० किलोमिटरभित्र दुई स्थानमा पम्पिङ्ग स्टोरेज बनाएर पाइपको माध्यमबाट चौबीसै घण्टा अमलेखगञ्जमा पानी उपलब्ध गराउने योजनाको लक्ष्य छ । करिब १५ करोड लागत अनुमान रहेको योजनामा मन्त्रालयले सुरुमा ५ करोडको लगानीमा काम थाल्ने भएको छ भने बाँकी अपुग रकम प्रदेश अर्थ मन्त्रालयबाट प्राप्त हुने जनाइएको छ । वातावरण अनुकुल भएमा प्रदेश सरकारले एक वर्षभित्रै अमलेखगञ्जमा पानी पु¥याउने मन्त्रालयले दावी गरेको छ ।
यसैबीच प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले प्रदेश २ मा खानेपानी र उर्जाको विकासका लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वीरगन्जबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगन्ज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले सोमबार खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताउनुभएको थियो ।
द मिरर आफ सोसाइटी पत्रिकाका प्रकाशक एवम् सम्पादक आरसी यादवको अध्यक्षतामा भएको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता, पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।