कतिपय प्रदेशमा मन्त्रीलाई क्वाटरमा खोप लगाउने व्यवस्था मिलाइयो भन्नेसम्मको आरोप छ । त्यत्तिबेला मन्त्रीका आसेपासेले पनि फाइदा उठाए पनि भनिन्छ । मन्त्रीको तोक आदेशमा कार्यकर्ताले पनि खोप पाएका छन् । पहुँचवाला दलका नेता र उद्योगी व्यवसायीलाई पनि खुसी पार्न घरमै खोप लगाइएको घटना बाहिरिएको छ । उनीहरूका परिवारका सदस्य र आफन्त खोप पाउने भाग्यमानी बने । प्रदेश २ मा लक्षित वर्गका लागि निःशुल्क खोप स्वास्थ्यकर्मीले चर्को मोलमा बिक्री गरेको खबर सार्वजनिक भइरहेको छ ।

शिक्षकको नामको खोप निजी शिक्षक र गैरशिक्षकले तथा चालकका लागि आएको खोप लाइसेन्स भएका तर गाडी नचलाउने लगाएका छन् । खोप जस्तो शंवेदनशील सुविधामा पनि लक्षित वर्गभन्दा बाहिरका व्यक्ति हावी भएपछि देशका धेरै ठाउँमा खोप कार्यक्रम नै स्थगित भएका छन् । देशैभर खोप दुरूपयोग भएको छ । यसरी नागरिकले खोप पाउनु नराम्रो कुरा त होइन तर जोखिममा रहेका समुदायको सट्टामा अर्कोेले लगाउने कार्यलाई चाही अवश्य नै राम्रो मान्न सकिदैन । एकातर्फ लक्षित वर्गभन्दा बाहिरका पहुँचवालाहरुले खोप लगाउने अर्कोतर्फ जेष्ठ नागरिक लगायतका लक्षित वर्ग भने घन्टौं लाममा बस्दा पनि खोप नपाएर घर फर्कन बाध्य हुनु पर्ने अवस्थालाई भने अवश्य नै राम्रो भन्न सकिदैन । यस्तो कार्यलाई नियन्त्रण गर्न जरुरी छ ।

त्यसैले प्रदेश २ सहितका सबै क्षेत्रमा खोपको बिषयमा देखिएको अनियमितता बारे सरकारले पारदर्शिता अपनाउन आवश्यक छ र उनीहरुले उचित व्यवस्थापन मिलाउन पनि आवश्यक छ । प्रदेश सरकारले स्पष्ट नीति लिन सकेन भने फेरि खोपको बिषयमा विवाद सृजना भइ थप विवाद र समस्या उत्पन्न हुनेछ । त्यसैले अब सबै नागरिकहरुलाई सहज रुपमा खोप लगाउन वातावरण मिलाउनेतर्फ सरकारहरुले ध्यान दिनु पर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here