बारामा अपराधिक घटना बढेपछि यतिबेला जिल्लाको सुरक्षा व्यवस्थाका विषयमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन ।जिल्लाका एक जना क्याम्पस प्रमुखको गोली प्रहारबाट हत्या भएपछि सुरक्षाको अवस्थालाई लिएर प्रहरीको आलोचना भइरहेकै अवस्थामा बाराको निजगढमा पनि एमाले कार्यकर्तामाथि सांघातिक आक्रमण भएको छ ।
हुन त प्रहरीले चाहेर मात्रै समाजमा शान्ति सुरक्षा सुदृढ हुने कुरा होइन तर यदि समाजमा अपराध नै हुने थिएन भने प्रहरी र जेल पनि चाहिने थिएन होला । यसैको लागि प्रहरीको पनि व्यवस्था गरिएको हो । हामी कहाँ जहाँ समाज, त्यहाँ अपराध भन्ने भनाई पनि प्रचलनमा छ । तर यसो भनेर मात्रै पनि पुग्ने अवस्था छैन । बाराको हकमा कतै प्रहरीको सक्रियता कम भएकै कारणले अपराधिक घटना बढेका पो हुन कि भन्ने अवस्था पनि छ । यसतर्फ प्रहरीले ध्यान दिन आवश्यक छ ।

बाराको हरेक स्थानीय तहमा प्रहरीको उपस्थिति छ । त्यसो त कलैयामा त यसै पनि हुने नै भयो तै पनि बाराको सदरमुकाम कलैया नै असुरक्षित रहेको महुसस नागरिकहरुले गरिरहेका छन् । करिब ६ महिनाअगाडि एकजना निजी विद्यालयका संचालकमाथि पनि गोली प्रहारबाट हत्या भयो । घटनाको अनुुसन्धान पनि भयो र दोषी पक्राउ परेको कुरा प्रहरीले दाबी गरेको थियो तर परिवारले त्यो कुरा स्वीकार गरेनन् । त्यसैले प्रहरीको अनुुसन्धान पनि कतै फितलो छ कि भनेर नागरिकहरुले प्रश्न उठाउने ठाउँ छ ।

नेपाल प्रहरी अनुसन्धानको सवालमा कमजोर त छैन तर प्रहरीले बद्मासी गरिदिएको खण्डमा भने फेरि प्रश्न उठ्ने ठाउँ रहन्छ । क्याम्पस प्रमुखको हत्याको विषयमा पनि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठिरहेको छ । त्यसैले बाराको शान्ति सुरक्षाको सवालमा प्रहरीले अब अलि फरक दृष्किोणबाट नीति बनाउन र सतर्कता अपनाउन जरुरी छ ।

Leave a Reply