जनकपुरधाम,विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक बुधवार सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नुभएको हो ।
जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभएको थियो । उहाँले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध जारी राख्ने बताउनुभयो ।यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले बुधवार तीन घण्टा छलफल गर्नुभएको थियो । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो ।



















