वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगन्जको घण्टाघर चोक छेउमै रहेको विपी उद्यानको जग्गामा महानगरपालिकाको नगरसभामा पास भएको निर्णय अनुसार निर्माण कार्यअगाडि बढेको बताउनुभएको छ । उहाँले विपी उद्यानको जग्गामा महानगरपालिकाले नगरसभाको निर्णय अनुसार उद्यानको १० बिगाहा जमिनमा पार्क सहितका विभिन्न भौतिक संरचना निर्माण कै लागि तलबाट काम अगाडि बढाइएको बताउनुभयो ।

आइतबार महानगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख सरावगीले पार्कमा सवारीसधान पार्किङका लागि ढलान गरेर पक्की संरचना बनाउन थालेपछि समाजिक संजालमा टिकाटिप्पणी भएको कुरा दिगभ्रमित पार्ने प्रयास मात्रै भएको बताउनुभयो । नगरप्रमुख सरावगीले वास्तविक कुरा बुझदै नबुझी जनतालाई भ्रमित नपार्न, १० बिगाहा जमिनमा सबैभन्दा उत्तरतर्फको लालबंगला भएको जग्गामा शहरी विकास मन्त्रालयले ६० करोड रुपैयाँको लागतमा २ हजार मानिस अट्न सक्ने सभागृह निर्माण गरिने बताउनुभयो । त्यसबाहेक अहिले ८ बिगाहा जमिनमा पार्क सहितका तीनवटा संरचना बनाउनका लागि पर्खाल लगाउन थालिएको जानकारी उहाँले दिनुभयो । नगरप्रमुख सरावगीले २ बिगाहामा सवारी सधानकोलागि पार्किङ स्थल अहिले बनाउन थालिएको , २ बिगाहामा सभा सम्मेलन महोत्सव आयोजनाको लागि खुल्ला मन्च र बाँकी ४ बिगाहा जमिनमा उद्यान अर्थात् पार्क नै बनाइने बताउनुभयो । ‘यी तीन वटै संरचनाको अनुमानित लागत ३५ करोड रुपैयाँ रहेको पनि सरावगीले बताउनुभयो । पार्कमा घुम्न आउनेहरुलाई पनि सवारी सधान पार्किङ गर्ने ठाउँ चाहिन्छ, त्यसैले त्यहाँ अहिले पहिलो चरणमा पार्किङस्थल बनाउन थालिएको हो ।’ उहाँले भन्नुभयो । त्यसबाहेक अहिले पर्खाल उठाएर घेराउ गरिएको ८ बिगाहा जमिनमा पार्क सहितका तीनवटा संरचना बनाउन थालिएको उहाँले बताउनुभयो । पार्क (उद्यान) बनाउने शर्तमा तत्कालीन नेपाल यातायात संस्थानसँग २०६० सालमा महानगरपालिकाले १० करोड रुपैयाँमा १० बिगाहा जमिन खरिद गरेको थियो । त्यसबेला यातायात संस्थानको स्वामित्वमा रहेको उक्त जग्गा तत्कालीन सरकारले विपी उद्यान निर्माण गर्ने शर्तमा मात्रै तत्कालीन उपमहानगरपालिकालाई बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here