कलैया,बाराका किसानले धान रोपाइँ गर्न खेतमा जडान गरेका आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन ।धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका– १०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी भएको पीडित किसान कुइस राउत अहिरले बताउनुभयो ।उहाँका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी पटाउदै गरेको अवस्थामा दुई घण्टापछि १२ बजे राति हेर्न जाँदा मोटर हराएको थियो । चोरी भएको आशङ्कामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको छ ।खेतमा जडान गरिएको वडा नं. १० का चुल्हाई महतो नुनियाको प्रेमशङ्करप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको विद्युतीय मोटर पनि चोरी भएको छ । यसैगरी सोही वडाका सक्कलप्रसाद यादव र वडा नं. ३ का इजहार मियाँको दमकल चोरी भएको छ भने चनरदेव यादवको दमकल चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ । त्यस्तै ढोढा महतो कोइरीको दमकल चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताउनुभयो ।त्यसैगरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका–३ का सुनील जैसवाल र वडा नं. ४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उहाँहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गर्नुभएको थियो ।सिँचाइ गर्न खेतमा राखिएको मोटर र दमकल चोरी हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन ।

 

Leave a Reply