करैयामाई,बजेट बाँडफाँडमा वडाहरुलाई विभेद गरेको भन्दै बाराको करैयामाई गाउँपालिकाका वडा अध्यक्षहरुले विरोध जनाएका छन । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि स्वीकृत बजेट मध्ये गाउँपालिकाले वडागत बजेट सिलिङ्क कम पठाएको भन्दै वडा अध्यक्षहरुले विरोध गरेका हुन ।

गाउँपालिकाका ८ वटै वडा अध्यक्षहरुले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकार्षण गराएका छन । गाउँपालिकाको बजेट तथा योजना निर्धारण समितिले वडाहरुलाई हेप्ने प्रवृतिले वडागत बजेट सिलिङ्ग कम पठाएकोले आफुहरुले विरोध जनाएको वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहले बताउनुभयो । गाउँपालिकाले वडाहरुलाई कनिका छर्ने गरि बजेट दिने गरेको र सम्पुर्ण बजेटहरु गाउँपालिका स्तरमै राख्ने गरेको वडा अध्यक्ष साहले आरोप लगाउनुभयो । आफुहरुको माग सम्बोधन नभए आगामी गाउँ परिषदमा समेत सहभागी नहुने साहले बताउनुभयो ।

आगामी चालु आर्थिक बर्षमा गाउँपालिकाको लागि कुल २७ करोड ८४ लाख केन्द्र सरकारले विनियोजन थियो । गाउँपालिकाले ८ वटै वडाहरुमा कुल २ करोड ६० लाख मात्र छुट्याएको वडा अध्यक्ष साहले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडाहरुलाई वडा नम्बर १ लाई ३२ लाख १० हजार, वडा नम्बर २ लाई २० लाख ८९ हजार, वडा नम्बर ३ लाई २७ लाख ४९ हजार, वडा नम्बर ४ लाई २३ लाख ४८ हजार, वडा नम्बर ५ लाई ३७ लाख, वडा नम्बर ६ लाई २५ लाख, वडा नम्बर ७ लाई ४९ लाख ७४ हजार र वडा नम्बर ८ लाई ४४ लाख ३० हजार बराबरको बजेट सिमा निर्धारण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here