कलैया,नेकपा एमालेका सचिव एवंम मधेस प्रदेश कमिटीका इन्चार्ज योगश भट्टराईले अघिल्लो आमनिर्वाचनको परिणाम मुलुकको लागि अनुकुल हुननसक्दा देशमा अस्थिरता बढेको बताउनुभएको छ ।नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको लागि बुधवार कलैयामा आयोजना गरिएको पद तथा गोपनियताको सपत ग्रहण कार्याक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सचिव भट्टराईले सो कुरा बताउनुभएको हो । ‘०७९ को निर्वाचन हाम्रो पार्टी र देशको लागि पनि अुनुकुल हुनसकेन, उहाँले भन्नुभयो, यही कारणले संघ र प्रदेशमा पनि सरकार अस्थित बनेकाछन ।’
आम निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभाहरुमा कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेका कारण पटकपटक सरकार परिवर्तनका घटना भएको उहाँले उल्लेख गर्नुभयो । अस्थिर सरकारले देश र जनताको हित र प्रगतिको लागि उल्लेखनीय कार्य गर्न नसक्ने उहाँको भनाई थियो ।अस्थिरता अन्त्य गरेर विकासको गति तीव्र पार्न देशमा एउटा बलियो शक्तिको खाँचो महसुश भएको उहाँको भनाई थियो । ‘सबै वर्ग र समुदायका मानिसहरुलाई मिलाएर विकासको लहर सृजना गर्नसक्ने पार्टी एमालेमात्रै हो, नेता भट्टराईले भन्नुभयो, आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी पार्टी संगठन विस्तार र सुदृढीकरणको काम गर्नुपर्छ ।’
सचिव भट्टराईले आगामी आम निर्वाचनलाई नै लक्षित गरेर एमालेले ‘मिसन ०८४’ संचालन गरेको पनि जानकारी दिनुभयो । राष्ट्रियताको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण गर्न देशमा एमालेको एकल सरकार जरुरी रहेको पनि उहाँको भनाई थियो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम बारा जिल्ला कमिटी इन्चार्ज रामदयाल मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा नवनिर्वाचित जिल्ला कमिटीका अध्यक्ष अध्ययानन्द पाण्ड्ये र लेखा समितिका अध्यक्ष रमेश सापकोटालाई निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत रफिक अन्सारीले र अन्य पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यहरुलाई अध्यक्ष पाण्ड्येले सपथ गराउनुभएको थियो ।
कार्यक्रममा पोलिब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय कमिटी सदस्यहरु बलवीर चौधरी, सरस्वती चौधरी र एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, जिल्ला कमिटी अध्यक्ष विनोद साहलगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।गत चैत्र १९ र २० गते कलैयमा भएको एमाले जिल्ला अधिवेशनले मतदानमार्फत पाण्ड्येको अध्यक्षतामा ५ जना पदाधिकारी सहित १ सय २९ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो ।



















