कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ दोहोरीका ५६ दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । इन्टरनेसनल कमिशन फर दलित राईटस अमेरिकाको आर्थिक सहयोगमा पिसफोर दलित फाउण्डेसन नेपाल, प्रदेश नम्बर– २ पर्साले राहत वितरण गरेको हो ।
लामो समयदेखिको निषेधाज्ञाका कारण नियमित ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएका दलित परिवारको आम्दानीको स्रोत नहुँदा दैनिकी चलाउन असहज भइरहेको खबर सार्वजनिक भएपछि संस्थाले अमेरिकास्थित नेपालीहरुको समूहलाई गुहारेर राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको फाउडेशन पर्साका अध्यक्ष मनोज रामले बताउनुभयो । फाउण्डेशनले प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटमा निषेधाज्ञाबाट अतिप्रभावित दलित परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने कार्यअनुरुप प्रतिपरिवार २० केजी चामल, १ केजी नुन, डेढ केजी दाल, मास्क लगायतका सामग्री उपलब्ध गराएको हो ।
दलित अगुवा रामेश्वर रामको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र कुमार महतो, दलित अगुवा योगेन्द्र पसवान, फाउण्डेसनद्वारा गठित नागरिक स्वयंसेवी समुहका संयोजक पारमानन्द राम, संयोजक सुरेन्द्र पासवान, सयोग राम, अशोक राम, दलित जनप्रतिनिधि, दलित महिला सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण फाउण्डेशनका अध्यक्ष मनोज रामले गर्र्नुभएको थियो ।