एक हप्ताको अन्तरालमा हामीले दुई पटक शोकको सम्पादकीय लेखिरहेका छौं । हामी चाहान्छौं शोकको यस्तो सम्पादकीय कहिल्यै पनि लेख्न नपरोस् तर पनि परिरहेको छ । त्यसो त उमेर पुगेर कसैको निधन भएमा दिइने समवेदना अनि अल्पायुमा नै दिन पर्ने श्रद्धाञ्जलीले भने हामीलाई पनि ठीक लाग्ने कुरै भएन ।अघिल्लो हप्ता रोजगारीका लागि इजराइल गएका नेपालीहरुको आतंकवादी आक्रमणमा परी ज्यान गुमाउन परेको थियो । ती दशजना नेपालीहरुको परिवारलाई परेको शोक शब्दमा उल्लेख गर्न नै सकिन्न ।यही बीचमा कृपा दैनिक पत्रिकाका शुभेच्छुक, स्थापनाकाल देखिकै स्तम्भकार बाराका एक होनाहार व्यक्तित्व कृष्ण पौडेलको निधनले हामी पनि स्तब्ध भएका छौं ।कृपा दैनिक पत्रिका संचालना हुँदा शुरुका ताका उहाँका नियमित लेखहरु आउने गर्दथे । सामाजिक क्षेत्रमा र पछिल्लो समय राजनीतिक क्षेत्रमा सक्रिय कृष्ण पौडेल २०७४ को स्थानीय निर्वाचनमा मात्रै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर बन्नु भएको हो । त्यसअघि उहाँ एक सामाजिक व्यक्तित्व अनि सहकारी अभियान्ताको रुपमा स्थापित हुनुहुन्थ्यो ।पौडेलको निधनको कारण त बिस्तारै सार्वजनिक होला नै तर निकै हसिला, मिजासिला प्रतिभाशाली बाराका एक होनाहार मुर्धन्य व्यक्तिको भौतिक शरीर भने अब समाप्त भएको छ । छोटो समयमा बाराका नारिकहरुको मन जितेर पौडेल सदाका लागि गइसकेको अवस्था छ । तर, पौडेलले मेयर हुँदा होस वा त्यसअघि पनि समाजका लागि भने पक्कै केही दिएर जानु भएको छ ।
स्थानीय तहमा निर्वाचित धेरै जनप्रतिनिधिहरु भ्रष्ट्राचारमा मुछिएका घटनाहरु सार्वजनिक हुदै आएका छन । नेकपा एमालेबाट मेयरमा निर्वाचित कृष्ण पौडेलको ५ वर्षेकार्यकालमा पनि जीतपुरसिमरामा केही त्यस्ता भ्रष्टाचारजन्य घटना भएका थिए । कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिहरु अख्तियारको फन्दामा परेका पनि छन । तर त्यस्ता फाइलमा उहाँको संलग्नता कतै भेटिएको छैन । उहाँले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो इमान्दारितालाई आँच आउन दिनुभएन ।
नगरको विकासको लागि उहाँले के कति काम गर्नसक्नु भयो वा भएन त्यो मूल्याङ्कनको अर्को विषय हुनसक्छ तर नगरबासी जनताको हित विपरीत सार्वजनिक सम्पतिको दुरुपयोग गर्ने त्यस्तो कुनै काम उहाँबाट भएन ।त्यसैगरी मेयरमा निर्वाचित हुनुभन्दा धेरै अघिदेखि समाजसेवामा इमान्दारिताका साथ सक्रिय हुदै आउनुभएको थियो । सहकारी क्षेत्रमा उहाँले पु¥याएको योगदान जिल्लामा कसैले चाहेर पनि बिर्सन नसक्ने खालको छ । उहाँले सिमरामा सबैभन्दा ठूलो सहकारीको रुपमा रहेको हातेमालो सहकारीको स्थापना गर्नुभयो र जिल्लाका अन्य धेरै पालिकाहरुमा सहकारी संस्था स्थापना गर्न साथीहरुलाई प्रेरणा प्रदान गर्नुभयो । बास्तवमा कृष्ण पौडेलले समाजलाई दिएको योगदान अनुकरणीय छ । हामीले पनि उहाँको अनुशरण गरेर अघि बढन सकेको खण्डमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरेको ठहरिनेछ । पौडेलको निधनमा कृपा दैनिक पनि स्तव्ध छ । शोकको यो घडीमा परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।
















