निजगढ,काठमाडौँलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले हालसम्म कुल कामको १६ दशमलव १० प्रतिशत पूरा भएको जनाएको छ । उक्त प्रगति आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्मको हो । कुल कामको १६.२१ प्रतिशत सम्पन्न गर्ने लक्ष्य लिएकोमा दशमलव ११ प्रतिशत कम उपलव्धि हासिल भएको हो ।
ललितपुरको खोकनाबाट मकवानपुर हुँदै बारा जिल्लाको निजगढसम्म निर्माणाधीन साढे ७२ किलोमिटर सडक द्रुत मार्ग हो । नेपाली सेनाले यसलाई ‘एक्सप्रेस हाइवे’ भनेको छ । २०७४ सालमा शुरू गरिएको यस आयोजनाको काम आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न गर्ने लक्ष्य छ । बाँकी ८४ प्रतिशत काम तीन वर्षमा पूरा गर्नु पर्नेछ ।
सैनिक प्रवक्ता साहायक रथी सन्तोष बल्लभ पौडेलले गएका वर्षमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रियामा समय लागेकाले सुरुङमार्गको ठेक्का सम्झौतामा केही ढिलाइ भएको बताउनुभयो । सार्वजनिक लेखा समितिले सुरुङ र विशेष डिजाइनका पुल निर्माण सम्बन्धी ठेकेदार कम्पनी छनौटमा अनियमिता भएको ठहर गरी ठेक्का प्रक्रिया रद्द गर्न दिएको निर्देशनबारे जङ्गी अड्डा मौन रहेको छ । जङ्गी अड्डाले सार्वजनिक गरेको प्रगति विवरणमा ‘अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भइ मिति २०७८ जेठ ३१ गतेबाट दुवै सुरुङ ठेक्का प्याकेजहरूको कमेन्समेन्ट भई मोबिलाइजेसन सहित कार्य प्रारम्भ गरिएको उल्लेख गरिएको छ ।