सिमरा,बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि. सिमराले बाराको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई सुविधा सम्पन्न कोभिड डेडिकेटेड एम्बुलेन्स सहयोग गरेको छ । उद्योग परिशरमा एक कार्यक्रमबीच सुर्य नेपालका महाप्रबन्धक प्रभाकर शाहले नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजयकुमार साहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैँ महाप्रबन्धक शाहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगले नगर उद्योग बाणिज्य संघलाई कोभिड लक्षित एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले उद्योग पनि समाजमा स्थापित र सञ्चालन हुने भएकाले अगामी दिनहरुमा पनि आवश्यकतालाई महसुस गर्दै सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयोे । एम्बुलेन्स करिब १५ लाखको लागतमा खरिद गरिएको सुर्य नेपाल प्रा.लि.ले जनाएको छ ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजयकुमार साहले समाजको आवश्यकतालाई महसुस गर्दै नगर उद्योग बाणिज्य संघलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा सुर्य नेपाललाई धन्यबाद दिनुभयो । उहाँले जीतपुरसिमरा उपमहानगरपालिकासँग हातेमालो गर्दै एम्बुलेन्स सञ्चालन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा उद्योगको कमर्सियल प्रवन्धक उमेशजङ्ग थापा, सुरक्षा प्रवन्धक यज्ञबहादुर आले, प्रवन्धक सुरेश श्रेष्ठ, प्रवन्धक माधवप्रसाद खनाल, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो । केही दिन अगाडि मात्र सुर्य नेपालले वीरगन्जस्थित नारायणी अस्पतालमा ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि नगद ३० लाख रकम सहयोग हस्तान्तरण गरेको थियो ।

Leave a Reply