वीरगन्ज,वीरगन्जमा ८ दिन अगाडि मृत अवस्थामा फेला परेका एक भारतीय रिक्सा चालकको रिसइबी र आर्थिक प्रलोभनका कारण हत्या गरिएको पाइएको छ । भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाल वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव गत पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।प्रहरीले मियाँको हत्यामा संलग्न तीनजनालाई आज सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको छ । ई–रिक्सा व्यवस्थापनमा दुईजना मतियारको रुपमा प्रयोग भएका छन् । एक जना भारतीय अझै फरार रहेको प्रहरीले जनाएको छ ।घटना घटेको केही दिन अगाडि मियाँसँग एउटै घरमा भाडामा बस्ने सपन मण्डलसँग झगडा परेको थियो । बिहारको मुंगेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन वीरगन्जमा फल्स सिलिङको काम गर्छन् । सपनले सुनिल कुमारसँग मिलेर मुख्तारको हत्या योजना बनाएको भन्दै बस्नेतले त्यसका लागि ई–रिक्सा खरिद गर्नका लागि ५० हजार रुपैयाँ दिने भनि सुपारी दिएको खुलेको बताउनुभयो । बिहार मोतिहारी निवासी सुनिल हाल वीरगन्जको छपकैयामा बस्दै आएका छन् । दोस्रो लकडाउन अगाडिसम्म उनी मुख्तार बस्ने घरमै भाडा लिएर बस्थे । तर, दुवैको श्रीमतीको बीचमा झगडा भएपछि अहिले छेउकै घरमा भाडामा बस्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरी उपरिक्षक बस्नेतका अनुसार सुनिलले योजना बनाई एकजना भारतीय साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रिमा मिस्त्री काम गर्दा परिचय भएको निकेशलाई बोलाएका थिए । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सुनिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि थप अभियुक्त पक्राउ परेका थिए । पुस २१ को करिब पौने ५ बजेको समयमा सुनिलको भारतीय साथी र निकेसले मुख्तारलाई घटनास्थल लिएर पुगेका थिए । नारायणी अस्पताल अगाडि श्रीमतीको ठेलापसल छेउमा ई–रिक्सा रोकी बसेका मुख्तारलाई दुबैलै बयोधा अस्पतालबाट डेलिभरि केस नारायणी अस्पताल ल्याउनु छ, ५ सय रुपैयाँ भाडा दिन्छौं भनी लगेका थिए । पहिलेदेखि घटनास्थलमा रहेका सुनिलले निकेश र भारतीय साथीसँग मिली फलामको रेन्चले मुख्तारको टाउकोमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।मुख्तारको मृत्यु भएपछि शव नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए । सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई–रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ । गत पुस २५ मा मृतकको ई–रिस्का बाराको फेटा गाउँपालिका–४ स्थित पिलाहा सडकमा बरामद भएको थियो ।प्रहरीले अभियुक्त सुनिलको अटो समेत बरामद गरेको छ । घटनामा प्रयोग भएको फलामको रेन्च, अभियुक्तहरुको मास्क, रगत लागेको सर्ट, रगत लागेको ज्याकेट, रगत लागेको स्पोर्टस जुत्ता बरामद भएको भन्दै बस्नेतले अनुसन्धानमा हालसम्म खुले अनुसार मृतकसँगको झगडापश्चातको रिसइबी र आर्थिक प्रलोभनमा हत्या भएको देखिएको बताउनुभयो ।