कलैया,नेपाली काँग्रेस पार्टीको बिधान, नियामावली एवम केन्द्रीय छानविन समितिको परिपत्र अनुसार वितरण गरिएको नयाँ क्रियाशील सदस्यता सदर गर्नु पर्ने माग गर्दै पार्टी सभापती देउवा निकट बारा जिल्लाका नेता तथा कार्यकर्ताले पनि पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा धर्ना शुरु गरेका छन ।
जिल्लाका असन्तुष्ट पक्षका नेता कार्यकर्ताले शुरु गरेको धर्नासंगै संस्थापन पक्षले पनि बिहीबारबाट केन्द्रीय कार्यालय परिशरमा धर्ना शुरु गरेका हुन । क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै इतर पक्षले खारेजीको माग गर्दै धर्ना दिएपछि सदस्यता कायम गर्नु पर्ने माग राखेर काँग्रेस जिल्ला सभापती जयचन्द्र चौरसियाको नेतृत्वमा संस्थापन पक्षले पनि धर्ना शुरु गरेको हो । धर्नामा जिल्ला सभापती चौरसिया, सचिव हरेन्द्र यादब, जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादव, जिल्ला संगठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकी, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती बिजय शंकर यादव, क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, ४ का सभापती सुनिल गुप्ता, निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क की सभापती रामकुमारी गोले, निजगढ नगरपालिकाका नगर सभापती महेशी कुवर, सिम्रौनगढ नगरपालिकाका सभापती नागेन्द्र साह कानु, बुथ सभापती लगायत करिब २ सय जना भन्दा बढी नेता कार्यकर्ताको सहभागितामा रहेको छ । नेपाली काग्रेसका केन्द्रीय कोषाध्यक्ष सीता देवी यादव, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु धर्ना स्थल पुगी धर्नाको बारेमा जानकारी लिनुभएको छ ।
पार्टी विधान र पद्धति विपरीत केही व्यक्तिहरुले केन्द्रमा गएर गराएको सदस्यता ईन्टी खारिजको माग गर्दै धर्ना शुरु गरिएको धर्नामा सहभागी नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापती एंव सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजयशंकर यादवले बताउनुभयो । उहाँले तल्लो निकायबाट सिफारिस गरेर केन्द्रमा पठाइएका बाहेकलाई पनि क्रियाशील सदस्यता दिन लागिएको भन्दै विरोधमा धर्नामा बस्नु परेको बताउनुभयो । निर्वाचन क्षेत्र नम्बर १ को हकमा जिल्लाबाट क्षेत्रीय समितिले नयाँ क्रियाशील एंम पुरानो सदस्यता नवीकरणको फर्म बुझेर लगेपछि ४८ वटा बुथ सभापतीहरुलाई पालिकाका पार्टी प्रमुखहरुमार्फत फर्महरु बुझ्नलाई पटक पटक तकेता गर्दा समेत अटेर गर्दै आएकोमा निकै आग्रहका बाबजुद कोल्हवी नगरपालिकाको १० वटा वडा, बारागढी गाँउपालिकाको ३ वटा वटा वडाको सदस्यता फर्महरु नगर सभापती बिरेन्द्र चौधरी र गाँउपालिकाका सभापती सुरेन्द्र चौधरीले बुझेर लगे पनि समय सिमामा भरेर क्षेत्रीय कार्यसमितिमा नबुझाएको हुदाँ १३ वटा वडामा नयाँ एंव पुरानो नवीकरण केन्द्रीय समितिमा पठाउन नसकिएको क्षेत्रीय सभापती यादवले जानकारी दिनुभयो । बाँकी रहेका वडाहरुबाट निर्णय भइ आएका नयाँ र नवीकरण गाँउपालिका, नगर समिति, प्रदेश र क्षेत्रबाटसमेत छानबिन गरि बुझाएकोमा जिल्ला कार्यसमितिको बैठकले कार्यसमितिबाट अनुमोदन गराइ केन्द्रमा पठाएको सदस्यता फर्महरु कसरी अवैधानिक भयो भनी सभापती यादवले प्रश्न समेत गर्नुभयो ।
पार्टीको बिधान, नियमावली नमान्नेहरुलाई पार्टीले कारबाही गर्नु पर्नेमा उल्टै चोर बाटोबाट उनीहरुले पठाएको नयाँ सदस्यता एंव पुरानो नवीकरण ईन्टी समेत गरिएको हुदाँ विधि र प्रक्रिया विपरित गरिएको सदस्यता कायमलाई तुरन्तै खारेज हुनुपर्ने सभापती यादवले माग गर्नुभयो । बिधान विपरित भएको सदस्यता इन्ट्री खारेज नभएसम्म धर्ना जारी रहने जिल्ला संघठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकीले बताउनुभयो । यता, कांग्रेशको रामचन्द्र पौडेल र सिटौला समुहका बाराका नेता तथा कार्यकर्ताहरुले पनि संस्थापन पक्षले सिफारिस गरेको नयाँ सदस्यता खारेजीको माग गर्दै २ सातादेखि केन्द्रीय कार्यालय सनेपामा धर्ना जारी राखेका छन । क्रियाशील सदस्यता वितरणमा बारा र सप्तरी जिल्लामा देखा परेको विवादका कारण पार्टी महाधिवेशनको क्रममा आगामी साउन १२ गते हुने भनिएको वडा समितिकोे चुनाव भने अनिश्चित बनेको छ ।