वीरगन्ज,अबिरल बर्षाका कारण पर्साको ठोरीको जनजीवन नराम्ररी प्रभावित भएको छ । बर्षाको पानीको निकास नहुदा ठोरी गाउँपालिकाका सयौं घरहरु डुबानमा परेको छ । यस्तै घरहरुमा पानी सेमत पसेकाले स्थानीयको दैनिकी नै कष्टप्रद बनेको छ । निरन्तरको बर्षाका कारण ठोरीका खहरे खोलाहरुमा आएको बाढीले हुलाकी सडक किनारमा कटान गरेर क्षति पुरयाएको छ ।
बर्षाका कारण ठोरीका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । ठोरी गाउँपालिका वडा नम्बर ३ को ब्रम्हानगर र नयाँवस्ती लगायतका ठाउँमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घरहरु डुबानमा परेका छन् भने कतिपय ठाउँहरुमा सडक अग्लो हुँदा पानी घरभित्रै पसेको छ । हुलाकी सडक अग्लो र सडकको किनारको नालाको कारण सहजै पानीको निकास नहुँदा प्रायः जसो घरहरुमा पानी पसेको ठोरी ३ का वडा अध्यक्ष सुर्यबहादुर लामाले बताउनुभयो । रातभर परेको पानीका कारण ब्रम्हानगरमा रहेको वडा अध्यक्ष लामाको घरभित्र पनि पानी जमेर जलमग्न बनेको छ । रातिदेखिको लगातारको बर्षाले सोही वडाको बुद्धनगर र तल्लो रामनगरमा मुहान बगाएपछि खानेपानीको हाहाकार भएको छ । बर्षापछि आएको बाढीले खानेपानीको मुहानको पाइप बगाएपछि पानीको समस्या भएको बुद्धनगरका स्थानीय सुजन ढुङ्गेलले जानकारी दिनुभयो ।
खानेपानीको पाइप बगाएपछि पानीको वैकल्पिक व्यवस्था नहुँदा पोहोर साल जस्तै खोलाको पानी पिउनुपर्ने अवस्था आइपरेको ढुङ्गेलले बताउनुभयो । यस्तै ठोरी ४ को निर्मलवस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, बिजयबस्ती, विशालचोक, ट्याङ्ग्रेलाईन लगायतका ठाउँका अधिकांश घर डुबानमा परेका छन । घर अगाडिको बाटो अग्लो हुने गरी ग्राभेल गरिएको र पानीको निकास हुने गरी कल्भर्ट नहुँदा अधिकांश घरहरु जलमग्न भएको स्थानीयको गुनासो छ । घरभित्र पानी पस्दा पक्की घरहरु डुबानमा परेपनि भत्किने डर नभएको तर काठबाट बनेका घरहरु भने भत्किने डर भएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा अधिकांश स्थानीयको काठको घरभित्र पानी पसेकाले घर भासिन थालेको छ । घरभित्र पानी पसेकाले घरको धुरी नै भासिन थालेको ठोरी –४ मिलचोकका वीरबहादुर तामाङ्ले बताउनुभयो । अबिरल बर्षाले घरभित्र डुबान भएपनि अहिलेसम्म मानवीय हताहती भने नभएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । ठोरीका प्रहरी निरीक्षक ब्रम्हदेव साहले ठोरीमा प्रहरीको टोलीले पालिकाभित्र निरन्तर पेट्रोलिङ गस्ती गरिरहेको र अहिलेसम्म पानीले मानवीय क्षति पुर्याएको जानकारी प्राप्त नभएको बताउनुभयो ।
यसैबीच लगातारको बर्षापछि ओरीया खोलामा आएको बाढीले वीरगन्ज ठोरी हुलाकी सडकखण्ड अन्तरगत पर्ने गोपिवस्ती नजिकै क्षति पुगेको छ । बाढीले हुलाकी सडक जोगाउन गरिएको तटबन्ध नै भत्काएर सडकमासमेत क्षति पुर्याउन सुरु गरेको छ । करीब २ सय मिटर सडक किनारको तटबन्ध भत्काएर ओरीया खोला हुलाकी सडकतर्फ सोझिएको र सडक नै बगाउन सुरु गर्न थालेको स्थानीयले बताएका छन् । बर्षा अझै जारी रहे हुलाकी सडक बगाउने र उक्त सडकखण्ड भएर आवतजावत गर्नै नसकिने अवस्था रहेको छ । ओरिया खोलामा बाढी अझै आइरहेकोले ठोरीको १ देखि ४ नम्बर वडाको अन्य पालिकाहरुसंग सडक सम्पर्क बिच्छेद हुने अवस्था आएको मालीवस्तीका स्थानीय किरण पाण्डेले जानकारी दिनुभयो । उता ठोरी ३ मा पर्ने ओडार खोलामा रहेको पुल छेउको सडक भासिएको छ । बर्षा अझै जारी रहे पुल भएर सवारी साधन ओहोरदोहोर गर्न नसकिने अवस्था रहेको बुद्धनगरका स्थानीय सुजन ढुङ्गेलले जानकारी दिनुभयो ।
यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ पिपरामा पनि स्थानीयवासीको घरहरु डुबानमा परेको छ । अबिरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढ़ीको पानी गाँउमा पस्दा स्थानीय शंकर दास, किशुन महतो, जंगाली राय, खिचड़ी महतो, शिवशंकर दास लगायतका गरि १६ जनाको घर डुबानमा परेको हो । गाँउमा पसेको बाढिको पानीले स्थानीय राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएर बस्न लायक नभएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । डुबान पिडीतहरुलाई शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवट्टीबाट खटिएको शसस्त्र प्रहरी निरिक्षक केदार राई नेतृत्वको टोलीले सुरक्षित स्थानमा सारेको छ । डुबान पिडितहरुलाई गाउँपालिका कार्यालयको सहयोगमा भुजा, चिउरा, बिस्कुट र चाउचाउ वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।
त्यसैगरी भेडाहा खोलामा आएको बाढीले वीरगन्ज महानगरपालिकामा सयौँ बिघा खेती डुबानमा पारेको छ । निरन्तर परेको बर्षासँगै भेडाहा खोलामा आएको बाढीले महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुर र वडा नम्बर ३१ बेल्वा टोलमा स्थानीयबासीको धान खेती डुबानमा परेको हो । बाढीले रोपिसकेको धानको खेती डुबानमा पारेको छ भने रोप्नको लागि तयारी अवस्थामा रहेको ब्याडको बिउ समेत डुबानमा परेको छ ।
बाढीले रोपिसकेको धान बाली डुबानमा पारेपछि बाली नष्ट हुने चिन्ताले किसानलाई सताएको छ । यस्तै रोपाइँको लागि तयार भएको बिउ पनि डुबेपछि रोपाइँको लागि बिउ नपाइने समस्या आइपरेको किसानहरुको भनाइ छ । दुई दिन अघि आएको बाढीले भेडाहा खोलाको बाँध भत्काएको थियो । अहिले आएको बाढीले थप दुई स्थानमा बाँध भत्काएको वडा नम्बर ३० प्रसोतीपुर टोलका अफरोज अन्सारीले बताउनुभयो । बाँध भत्केपछि पहिले खेतसम्म मात्रै रहेको बाढी अहिले गाउँको नजिकैसम्म आईपुगेको अन्सारीले जानकारी दिनुभयो । बाँध भत्केपछि खोलाले धार परिवर्तन गरेको छ । अहिले खोलाको पानी प्रसोतीपुर टोल हुँदै लालपर्सा टोलसम्म आइपुगेको छ । लालपर्सा चोकसम्म आइपुगेको बाढी बढे बस्तीमा समेत पस्न सक्ने भएकाले स्थानीयहरु त्रसित बनेका छन् । भेडाहा खोलामा तटबन्ध निर्माणका लागि बर्सेनी वीरगन्ज महानगरपालिकाले लाखौँको बजेट खर्च गर्ने गरेको छ । तर, माटोमात्रै पुरेर बाँध बाँध्ने काम गर्दै आएकोले महानगरपालिकाले गरेको खर्च बालुवामा पानी खन्याएको जस्तो हुने गरेको वडा नम्बर ३० प्रसोतीपुर टोलकै स्थानीय सराजुल अन्सारीको आरोप छ । वीरगन्ज महानगरपालिकाले भेडाहा खोलाले हुने कटान र डुबानको समस्या सामधानका लागि आगामी आर्थिक वर्षको बजेटमा १० करोड ३८ लाख रुपैया रकम विनियोजन गरेको छ ।
नदी तटीय बासिन्दालाई सचेत रहन आग्रह
रौतहट,जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमती नदीमा पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नु भएको हो । मंगलबार राति परेको मुसलधारे पानीसँगै बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएकाले सचेत रहन उहाँले स्थानीयसंग आग्रह गर्नुभयो । बागमती र लालाबकैया नदीका कारण हरेक वर्ष रौतहट सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने र धनजनको ठुलो क्षेति हुदै आएको छ ।
बाढीले नवनिर्मित पुल बगायो
सर्लाही,सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोलाको बाढीले नवनिर्मित पुल बगाएको छ ।
मंगलबार राति फूलजोर खोलामा आएको बाढीले ईश्वरपुर नगरपालिका– ८, रामपुर र लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुर जोडने पक्कीपुल बगाएको हो । पुल दुई हप्ताअघि मात्र ढलान सम्पन्न भएको थियो । बाढीले पुल निर्माणमा प्रयोग भएका सेटिङका सामान तथा निर्माण सामग्री र उपकरणसमेत बगाएको ठेकेदार कम्पनीले जनाएको छ ।
बाढीले पुल बगाउँदा अन्दाजी २ करोड बराबरको क्षति भएको उनीहरूको भनाइ छ । पुलको उत्तरतर्फको ४० मिटर भाग बगाएको छ । पुलको ४० मिटर स्लाप बगेको हो ।
उक्त पुल संघीय सरकारको १२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको थियो । पुल निर्माण सम्पन्न गरेर यही असार मसान्तमा हस्तान्तरण गर्ने तयारी भएको थियो । निर्माण सम्पन्न भएर प्रयोगमा आउने आशमा बसेका स्थानीयबासी पुल नै बगेपछि निराश बनेका छन । पुलको कुल लम्बाइ २ सय मिटर रहेको ठेकेदार कम्पनी पप्पु शिव शंकर जेभीका सञ्चालक मनोज साहले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनीले लापरबाहीपूर्ण ढंगले काम गरेको र समयमा मजदुरको ज्याला भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भइहरेको पुल निर्माण कार्यमा खटिएका लालबन्दी–३, जब्दीका राम कैलाश चौधरीले बताउनुभयो ।
’वर्षाअघि नै काम सम्पन्न हुनुपर्ने थियो । स्थानीय चौधरीले भन्नुभयो, ’मजदुरलाई भुक्तानी नगर्दा बीचमा केही समय काम रोकियो, अहिले वर्षातमा कमसल सामग्री प्रयोग र हतार हतारमा गरेको ढलान बाढीले बगायो ।’