मंगलबार असार पन्ध्र अथवा धान दिवस । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । देशको मुख्य अन्नबाली धान खेतीमा किसानलाई प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धानको उत्पादन भने बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०७७÷०७८ को ११ महिनामा ४४ अर्ब ४६ करोड रुपैयाको चामल मात्रै विदेशबाट नेपालमा आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । गएको वर्ष नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ ।
यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ । सात वटै प्रदेशमध्ये प्रदेश–१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएका छन् । प्रदेश २ सहितका ५ वटा प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ । धान खेतीका लागि यो वर्ष रसायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ ।
यता, प्रदेश २ कै कुरा गर्ने हो भने पनि प्रदेशमा धान उत्पादन आशाजनक छैन । यो प्रदेशमा पनि धान परनिर्भर नै छ । बारा जिल्ला अन्नको उर्वराभूमि भएपनि कृषकहरुलाई अझै व्यवसायिक बनाउन सकिएको छैन । त्यसैले पनि अब स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिनुपर्ने थियो तर त्यसो पनि हुन सकेको छैन । अहिले खेतमा दुःख गर्ने कृषकहरुलाई भन्दा सामाजिक संजालमा रमाउनेहरु बढी छन् । रमाउनु ठीक हो तर यसलाई अझै व्यवसायिक बनाउन आवश्यक छ ।