यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, यो पाकिस्तानका लागि अत्यन्त ठूलो कूटनीतिक सफलता हो।

यस्तै र यससँग मिल्दोजुल्दो धेरै टिप्पणीहरू पाकिस्तानमा सामाजिक सञ्जालमा साझा भइरहेका छन्।
यी टिप्पणीहरूमा पाकिस्तानको प्रशंसा गर्दै भनिएको छ कि उसले अमेरिका र ईरानबीचको युद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, यो सशर्त र अस्थायी युद्धविराम मात्र हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “पूरै सभ्यता नष्ट गर्ने” समयसीमा समाप्त हुन केही घण्टा अघि, आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा घोषणा गरे कि उनले ईरानविरुद्धका आक्रमणहरू दुई हप्ताका लागि स्थगित गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो वक्तव्यमा भनेका छन् कि उनले यो निर्णय पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीरको अनुरोधमा लिएका हुन्।
यस घोषणापछि तुरुन्तै, ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पुष्टि गर्यो कि अमेरिकासँग १० बुँदे एजेन्डामा वार्ता अब शुक्रबारदेखि सुरु भएर १५ दिनसम्म इस्लामाबादमा चल्नेछ।
ईरानले जनाएको छ कि उसले आफ्नो १० बुँदे योजना पाकिस्तानमार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको छ।


















