वीरगन्ज,पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुनः लम्बिएको छ । जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार आठौं पटक थप्दै असार २० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घटेपनि निषेधाज्ञा खुला गर्दा फेरि संक्रमणको दर बढ्ने जोखिम कायमै रहेकोले निषेधाज्ञा बढाइएको डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
उहाँले अझैपनि पर्सामा होटल, रेष्टुरेन्ट तथा सार्वजनिक यातयात संचालन गर्न भने नपाइने बताउनुभयो । पर्सामा अघिल्लो पटकबाट नै निषेधाज्ञालाई खुकुलो बनाइएको छ । हाल पर्सामा व्यवसायहरु बिहान ८ बजेबाट साँझ ५ बजेसम्मका लागि खुला गरिएको छ भने अन्य खाद्यान्नका पसलहरु संचालनमा रोक लगाइएको छैन । कोरोनाको दोश्रो लहर बढेसँगै पर्सामा पहिलो पटक बैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो । बैशाख १६ बाट पहिलो पटक थप गरी बैशाख २३ सम्ममा र दोश्रो पटक थप गरी बैशाख मसान्तसम्ममा र तेश्रो पटक जेठ ६ गतेसम्म,चौंथो पटक जेठ १३ गते सम्म,पाँचौं पटक जेठ २१ गतेसम्म र छैठौं पटक जेठ ३० गतेसम्मका लागि लम्बाइएको निषेधाज्ञा सातौं पटक परिमार्जन सहित थप गरेर असार ६ गतेसम्मका लागि लम्बाइएको र फेरि धेरै खुकुलो गर्दै आठौं पटक जेठ १३ अथवा आज मध्यरातिसम्मका लागि थप गरिएको थियो । आइतबार बसेको डिसिसिएमसी बैठक नवौं पटक निषेधाज्ञा थप गरी असार २० गतेसम्मका लागि लम्बाइएको हो ।