कृपा सवाददाता
हेटौंडा , २१ कार्तिक । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ महांकालस्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।  अन्तर्रा्ष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दीगो विकासका लागि एकता(यूएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन यूएसडी नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले विद्यालयका अध्यक्ष जयबहादुर तितुङलाई हस्तान्तरण गरेका थिए ।

 

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद सन्तबहादुर चेपाङको प्रमुख आतिथ्य, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको विशेष आतिथ्य रहेको थियो । सांसद चेपाङले विकट भूगोलमा आएर लिसा हिमालय र यूएसडी नेपालले गरेको भौतिक पूर्वाधार तथा स्वास्य र शिक्षामा गरेको लगानीको प्रशंसा गरेका थिए । गाउँपालिका अध्यक्ष मल्लले स्थानीय सरकारले गर्नुपर्ने काममा गैरसरकारी संस्थाले गरेको भन्दै धन्यवाद ब्यक्त गरे ।

 

लिसा हिमालय इभीको सहयोगमा ५ कोठे विद्यालय भवन र दुई कोठे शौचालयसहितको भवन निर्माण गरिदिएको हो । भवनमा डेक्स बेन्च, शिशु स्याहार केन्द्रका लागि आवश्यक पूर्वाधारहरु र शौचालयसहित व्यवस्थान गरिएको छ ।विद्यालय भवन र शौचालयका लागि कूल ९७ लाख ९९ हजार ३८ रुपैंयाँ खर्च भएको लिसा हिमालयका नेपाल प्रतिनिधि अन्जनप्रसाद पौडेलले बताए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर तितुङको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा राक्सिराङका वडाध्यक्षहरु रामकृष्ण प्रजा, रामकुमार थिङ, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तान, साबिक काँकडा गाविसका पूर्व अध्यक्ष होमबहादुर तितुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here