
दुष्यन्त चौधरी
कलैया – राष्ट्रिय गौरवको अधिकांश ठूला ठूला आयोजनाहरू बारा जिल्लामा नै रहेको छ । बारा जिल्ला प्रदेश नम्बर २ अन्तर्गत पर्ने गर्दछ । प्रदेश नम्बर २ को मुख्य आयोजनाहरू मध्ये एक ठूलो आयोजना संघिय सरकारको सहयोगमा प्रसौनी गाउँपालिका भित्र निर्माण गर्ने भएको छ ।
प्रसौनी गाउँपालिकामा निर्माण हुने लागेको प्रसौनी पोलिटेक्निक ईन्स्टिच्युटमा संघिय सरकारले अर्बौंको लगानी गर्ने बारे प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जानकारी दिए । उक्त ईन्स्टिच्युटमा अटो मोबाइल , ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ तथा केमिकल सम्बन्धि श्रावण देखि कक्षा संचालन गरिने समेत गाउँपालिका अध्यक्ष गुप्ताले सुनाए ।
प्रसौनी पोलिटेक्निक ईन्स्टिच्युट निर्माण स्थललाई मध्य नजर गर्दै बंगरी खोलामा टटबंधन गर्ने , माटो पुर्ने तथा डिपीआर तयारी गर्नका लागि इन्जिनियर समेत खटाईसकेका बताए । शनिबार बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकवाल मियाँ तथा प्रसौनी गाउँपालिकाका अध्यक्ष गुप्ताले संयुक्त रूपमा प्रसौनी पोलिटेक्निक ईन्स्टिच्युट निर्माण स्थलको अनुगमन गरेका छन् । प्रसौनी पोलिटेक्निक ईन्स्टिच्युट ५ बिग्हा ५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिने भएको छ ।