वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकारिताको खोल ओढेर समाजमा विकृति विसङ्गति फैलाउने कथित पत्रकारलाई श्रमजीवी पत्रकारहरूले बहिस्कृत गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।वीरगञ्ज महानगरपालिकाको सहयोगमा बिहीवारदेखि सुरु भएको तीन दिने आम सञ्चारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख सिंहले पत्रकारिताको जग बलियो बनाउन महानगर सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै वीरगञ्जको पहिचान वृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गर्नुभयो ।

कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरू लागि पर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै गरेका काममा खोँचे थाप्नुभन्दा त्रुटी औँल्याएर सच्चिने बनाउन पत्रकारहरूले कलम चलाउनु उचित हुने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताउनुभयो ।
सञ्चारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उहाँले कहिल्यै पनि विरोधी जसरी प्रस्तुत हुन नहुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ पर्साका सभापती अनुप तिवारीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

















