रौतहट,रौतहटको मौलापुरमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । असार १० गते मौलापुर नगपालिकाको नगरसभा बिथोल्ने गरी भएको प्रदर्शनको क्रममा मेयरको समर्थन गरी आन्दोलन गरेको भन्दै भएको झडपमा १५ जना घाइते भएका हुन् ।

मौलापुरमा कुलोबाट खेलमा पाटी सिचायी गर्ने बहाना बनाएर आफुहरुलाई कुटपिट गरिएको घाइतेहरुको भनाइ छ । झडपमा परी स्थानिय मर्यादपुरका अन्जु देवी, श्यामा देवी, नयन देवी, किसुन साह सोनार, रामजी साह सोनार, भरत साह सोनार, सुहन साह सोनार, धर्मेन्द्र साह, हृदय नारायण यादव, जगरनाथ कुश्वाह, पन्नालाल यादव, शिवपुजन महतो, रमिता देवी, असिया देवी लगायत रहेका छन् ।

कुलोबाट पानी सिचायीको बहाना बनाएर योजनाबद्ध तरिकाले हमला गरेको मौलापुरको क्लिनिकमा उपचारका क्रममा रहेका भुवाल साह सोनारले बताउनुभयो । गत १० गते वडा न १ का अध्यक्ष रामप्रवेस राय यादवको नेतृत्वमा मौलापुरको नगरसभा बिथोल्ने कार्यक्रम थियो । कुलो भन्दा पनि राजनीतिक र जातीय रिसिबी साध्न आफुहरुलाई वडा अध्यक्षको समुहले आक्रमण गरेको अर्का घाइते भरत साह सोनारले बताउनुभयो ।

आक्रमण गर्ने समुहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही हुनु पर्ने घाइतेहरुको माग छ । घटनाका दोषिहरुलाई कारवाही नगरे प्रशासन विरुद्ध आन्दोलन गर्ने उनीहरुले बताएका छन ।

घटनामा संलग्न रहेका २ जना आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मौलापुरमा पछिल्लो समय सांसद प्रभु साह र विपक्षी समुहले एकअर्का विरुद्ध प्रदर्शन गर्दै आएका छन ।

Leave a Reply