निजगढ,संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले वीरेन्द्रप्रसाद साहलाई सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।यसअघि किर्ते कागजात पेस गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेका हरिओम जयसवाललाई जिम्मेवारीबाट हटाउदै मन्त्रालयले नगरपालिकामा कार्यरत वरिष्ठ कर्मचारी मध्ये अधिकृत सातौँ तहका साहलाई मंगलवार प्रमुख प्रशासकीयको जिम्मेवारी दिएको हो ।

नगरपालिकाको नक्कली लेटर प्याड र नगर प्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका सोही नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सातौं तहका अधिकृत स्तरका कर्मचारी जैयसवालमाथि कारबाहीको माग गर्दै नगर प्रमुख संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौं पुग्नुभएको थियो । जैसवाललाई पदबाट हटाएर कानुनी कारबाही हुनुपर्ने माग गर्दै नगरप्रमुख कलवार एक सातादेखि काठमाण्डौंमै हुनुहुन्छ ।

नगर प्रमुख कलवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाललाईसमेत सरकारी कागजात किर्ते गर्ने जयसवालमाथि कारबाही माग गरेर पत्राचार गर्नुभएको छ ।यसअघि सिम्रौनगढमा १ वर्षसम्म निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी लिइसकेका जयसवालले आफू बाराकै आर्दशकोतवाल गाउँपालिकामा काज सरुवा भई जान तयार भएको र पालिकालेसमेत सहमति पत्र दिएको हुँदा सोको लागि पत्र मागेपछि नगरप्रमुख कलवारले ०८१ वैशाख २४ गते स्वास्थ्य मन्त्रालयमा सरुवा सहमतिको लागि चिठ्ठी पठाउनुभएको थियो । तर जयसवालले सोही मिति र चलानी नम्बरमा नगरपालिकाको नक्कली लेटरप्याड र नगरप्रमुख कलवारको हस्ताक्षरसमेत किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न सिम्रौनगढ नगरपालिकाले सहमति दिएको भन्ने व्यहोराको पत्र पेस गरेपछि मन्त्रालयले उनलाई असार ९ गते आर्थिक तथा प्रशासनिकसहितको काम गर्ने गरी जिम्मेवारी दिएर सिम्रौनगढमा पठाएको थियो । नियुक्ति पत्र पाएकै दिन उनी कार्यालयमा हाजिर भएका हुन ।

अर्कै पालिकाको लागि सहमति लिएर गएका जैयसवाल कार्यालयमा हाजिर भएपछि भने नियुक्तिबारे खोजबिन शुरु भएको थियो । ‘खोज्दै जाँदा नक्कली कागजातको आधारमा नियुक्ति लिएको पाइयो, नगर प्रमुख कलवारले भन्नुभयोे, उनले २ वर्ष पुरानो लेटरप्याडमा मेरो नक्कली हस्ताक्षर गरेर मन्त्रालयमा पत्र दिएका रहेछन ।’सिम्रौनगढको प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा नगरको एउटा माछा पोखरी ठेक्कामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि जयसवाल निलम्बनमा परेका थिए । सो मुद्दामा गत वैशाख २२ गते अदालतले सफाइ दिएलगत्तै उनले आदर्शकोतवाल गाउँपालिकामा काज सरुवा मागेर सहमतिपत्र तयार पार्न लगाएका हुन ।यता सरकारी पत्र किर्ते घटनाको मन्त्रालयसंगै बारा प्रहरीले समेत अनुसन्धान सुरु गरेको जनाएको छ । बारा प्रहरीले मन्त्रालयबाट जयसवालले पेश गरेको सक्कल कागजात समेत अनुसन्धानका निम्ती बारा ल्याइएको जनाएको छ ।

Leave a Reply