जीतपुर,नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिका उपाध्यक्षसहित ३ सय जना नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नगर कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरीसहित ३ सय जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका बीच गिरीसहित ३ सय जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरीसहित एमालेका प्रभावशाली नेता कपुरराज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबितादेवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत रहेका छन् ।
उनीहरुलाई ५ दलीय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ किशानले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले एमालेबाट देश विकास नहुने धारणा राख्नुभएको थियो ।
बारा क्षेत्र नम्बर ४ को विकास गर्न ५ दलीय गठबन्धन प्रतिवद्ध रहेको भन्दै उहाँले सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले विकास विरोधी पार्टी भएको बताउदै श्रेष्ठले क्षेत्र नम्बर ४ को विकासमा आफु गंभीर भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।
यसैबीच, पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादी प्रवेश गर्नुभएका उपाध्यक्ष गिरीले एमालेबाट क्षेत्रको विकास नहुने भन्दै केहि व्यक्तिका कारण एमाले छाड्नु परेको बताउनुभएको छ ।
यसैबीच बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गर्नुभएको छ ।
पूर्ववडा सदस्य समेत रहनुभएका कुर्मी शनिबार एमाले पार्टी प्रत्याग गरि लोसपामा प्रवेश गर्नुभएको हो । लोसपा मधेश प्रदेश अध्यक्ष एंव पूर्व मन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।



















