दशैं लागिसकेको छ । जब चाडपर्व आउँछ तब नेपालमा प्रशासनले बजार अनुगमनको नाममा झारा टार्न शुरु गर्छ । प्रत्येक जिल्लामा अनुगमन गर्ने टोली बनाइन्छ । सदरमुकाम केन्द्रित अनुगमन केही समय तातिन्छ र चाडपर्व सकिएसँगै सेलाउँछ पनि । बजारको बेथिति दुई दिन गरिने अनुगमनले नियन्त्रण हुँदैन । तर यो प्रक्रिया हाम्रो मुलुकका लागि सामान्य जस्तै बनेको छ । सरोकारवाला निकायले एकीकृत रूपमा अनुगमन गर्न नसक्दा बेला मौकामा हुने अनुगमन केवल झारा टार्ने काम मात्रै भएको छ । बजारको स्वरूपको आधारमा बजार अनुगमन हुनुपर्ने हो । तर हामी कहाँ त्यो हुन सकेको छैन र मौसमी कार्य मात्रै भएको छ ।
निरन्तर अनुगमन नहुँदा व्यापारीले बजारमा मनपरी गर्दै आइरहेका छन् । किनकि उनीहरूलाई पनि थाहा छ, यो क्रम निरन्तर चल्दैन भनेर । नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको आर्थिक समीक्षाअनुसार भारतमा भन्दा नेपालमा उपभोक्ता मूल्य सूचकाङ्क बढी छ । यसले नेपालको उपभोक्ता बजार अराजक छ भन्ने कुरालाई पुष्टि गर्छ ।
नेपालमा सानातिना कारण देखाउने बित्तिकै बजारमा कृत्रिम अभाव हुन्छ । यसै समयमा जथाभाबी मूल्यवृद्धि गर्ने प्रवृत्ति हाबी हुन्छ । अझै चाडपर्वको समयमा त मूल्यले आकाश नै छुन्छ । तर, दैनिकी टार्नै पर्ने बाध्यताका कारण उपभोक्ता बाध्य भएर सामान खरिद गर्छन ।
मौसमी बजार अनुगमनको सकारात्मक असर बजारमा खासै नपर्ने भएकाले उपभोक्ताले यो विषयलाई चासो पनि दिँदैनन् । अनुगमन टोलीलाई पनि बजारको अवस्था खासै थाहा हुँदैन । अन्योलमा बजारको अवस्था नबुझी गरिने बजार अनुगमन प्रभावकारी छैन । बजारमा प्रचलित कालोबजारीसम्बन्धी ऐनले तोकेको २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने भन्ने कानुनी व्यवस्थाकै खिल्ली उडाइरहेको छ ।