निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ को रतनपुरमा बाघले बाख्रा मारेर खानेक्रम नरोकिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन ।डेढ सातादेखि लगातारजसो स्थानीयको चौपाय मार्दै आएको बाघले शनिवार बिहान फेरि गोठमा पसेर ४ वटा बाख्रा खाएपछि स्थानीयमा त्रास बढेको हो । बाघले शनिवार बिहान ४ बजे स्थानीय फर्सबहादुर बानियाको गोठमा बाँधको ४ वटा बाख्रा मारेको हो । गोठमा रहेका मध्ये ४ वटा मारेको र एउटा बाख्रालाई घिसारेर बाघले जंगलतर्फ लगेको स्थानीयले जानकारी दिएकाछन ।‘बाघले चौपाय मार्ने क्रम रोकिएन, स्थानीय चन्द्रकुुमार लामाले भन्नुभयो, अब त मान्छेलाई पनि केही गर्ने हो कि भन्ने डर पो लाग्न थाल्यो ।’बाघको त्रासले स्थानीयको दैनिकी नै प्रभावित बनेको लामाले सुनाउनुभयो । ‘गाउँलेहरुले घाँस दाउरा गर्न र चरिचरणको लागि जंगल जान छेडेकाछन, उहाँले भन्नुभयो, आक्रमण नरोकिएपछि साँझ बिहान खेतबारीको काम र गाउँघरमा हिडडुल गर्न कम भएकोे छ ।’उहाँले बाहिरफेर त कता हो कता घरभित्रै पनि असुरक्षाको महशुस हुन थालेको पनि बताउनुभयो ।गत बुधवार मात्रै स्थानीय किसानको १२ वटा बाख्रा एकैपटक मारेर खाएको बाघले शनिवार फेरि बाख्रा मारेको हो । पछिल्लो दुई साताभित्र दुई दर्जनभन्दा बढी चौपाय मारेर खाएको छ । डेढ महिनायता रतनपुरी क्षेत्रमा बाघले स्थानीय किसानले पालेको ५० वटा चौपाय मारेको छ । स्थानीय ठुलोकान्छा श्रेष्ठ, नरनाथ काफ्ले र सिंहवीर मोक्तानलगायत आधा दर्जन किसानको गाई, भैसीको पाडो र बाख्रा बाघले खाएको हो ।पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको रतनपुर र लालगाउँमा बाघले बाघले चौपाया मारेर क्षति गर्ने क्रम बढेपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले रतनपुरी क्षेत्रको जंगलमा गत बुधवार क्यामरा ट्यापिङ्ग जडान गरेको थियो । निरन्तर निगरानी गरेर गतिविधि बुझ्न र क्षति न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघको अति प्रकोप देखिएको २ वटा स्थानको जंगलमा क्यामरा ट्यापिङ्ग सिस्टम जडान गरेको हो । ‘बाघको अवस्था बारे जानकारी लिने उद्देश्यले प्रकोप बढी देखिएको स्थानमा क्यामारा राखिएको छ, निकुञ्जका सहायक वार्डेन सन्तोष भगतले भन्नुभयो, २÷३ दिनसम्म क्यामरामार्फत निरन्तर निगरानी गरिने छ ।’ चौपाय खाने बाघ घाइते पनि हुनसक्ने र घाइते अवस्थामा भए नियन्त्रणमा लिएर उपचार गरिने उहाँले बताउनुभयो । घाइते बाघ आक्रमक हुने र सोही कारणले चौपाय मार्ने क्रम बढेको पनि हुनसक्ने वार्डेन भगतको भनाई छ ।बाघले गोठमा बाँधेको चौपाय मारेर खाने र सर्वसाधारणलाई समेत निसाना बनाउनसक्ने भन्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले बाघ नियन्त्रणमा लिन र पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानालाई स्वकीय सचिव दामोदर मैनालीमार्फत पत्रबुझाएर सांसद मैनालीले यस्तो आग्रह गर्नुभएको हो । किसानले पालेको चौपाया मारेर खान थालेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गरिरहेको बेलामा सांसद मैनालीले वन्यजन्तुको नियन्त्रण पीडित किसानलाई यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।त्यसैगरी निजगढ नगरपालिकाले पनि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयसंग पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन गत माग गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बुधवार विज्ञप्ति निकालेर रतनपुरी क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर चौपाय मार्ने र मानवीय क्षतिको समेत जोखिम समेत उच्च रहेकोले सोको नियन्त्रणका लागि आवश्यक कार्य गरी पीडित किसानलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइदिन निकुञ्जको कार्यालय आदाभारमा माग गर्नुभएको हो ।

Leave a Reply