निजगढ,निजगढ नगरपालिकाले नगरभित्रको एउटा दलित र दुई वटा सुकुम्बासी बस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने भएको छ ।

नगर प्रमुख सुरथ पुरीले आइतवार भएको पदभार ग्रहण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ पुरानोटोलस्थित दलित बस्ति, सोही वडाको माझी टोल र वडा नम्बर ८ को खयरघारी सुकुम्बासी वस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने बताउनुभएको हो ।

नगरप्रमुख पुरीले सहिद हिरालाल पार्कको पूर्व र पश्चिमतर्फ पर्ने यी दुबै बस्तिलाई नमुनाको रुपमा विकास गर्दा उक्त क्षेत्रमा पर्यटकीय शंभावनाको थप विकास हुने र स्थानीयको जीवनस्तरमा समेत सुधार आउने बताउनुभयो । ‘पार्कको प्रवेश व्दारको रुपमा रहेको दलित र माझी टोललाई नमुना बस्तिको रुपमा विकास गरिने छ, उहाँले भन्नुभयो, यसबाट निजगढको पर्यटन क्षेत्रको विकास हुनुको साथै दलित र पिछडिएको समुदायको उत्थानमा समेत मद्दत पुग्ने छ ।’

वडा नम्बर ८ को खयरघारीस्थित सुकुम्बासी टोललाई पनि नमुना बस्तिको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । खयरघारी क्षेत्रको वस्ति अव्यवस्थित रहेकोले व्यवस्थित तुल्याएर नमुना बनाइने उहाँको भनाइ थियो । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले निर्णयार्थ पेस गर्नुभएको सो प्रस्तावलाई नगर प्रमुख पुरीले सदर गर्नुभएको थियो ।

त्यसैगरी निजगढ नगरपालिकामा सिँचाई असुविधा भोग्दै आएका सुख्खाग्रस्त क्षेत्रमा सिँचाई सुुविधा उपलब्ध गराउने र निजगढमा विद्युतीय हस्ताक्षर सहितको अनलाईन सेवा लागू गर्ने निर्णय भएको छ । नगरप्रमुख पुरीले जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि आइतवार नै निजगढ नगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । मेयर पुरीलाई कार्यालयमा नगरपालिकका कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र स्थानीयले कार्यालयमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here