सिकिन्द्र साह, नरेश गुप्ता (सिम्रौनगढ, बरियारपुर)
सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार आयोजित पाँचौ नगरसभामा ५४ करोड ७३ लाख ५८ हजारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । ५३ करोड ९२ लाख ५८ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको नगरपालिकाले ८१ लाख घाटा हुने गरी बजेट ल्याएको छ । प्रस्तुत बजेटमा वित्तीय समानीकरण अनुदान १४ करोड ७३ लाख, राजश्व बाँडफाँड ८ करोड ९४ लाख ५८ हजार, आन्तरिक आम्दानी २ करोड ६१ लाख, प्रदेशबाट ७५ लाख, अन्य प्रस्तावित आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार रुपैयाँ र २१ करोड सशर्त अनुदानतर्फ रकम आउने अनुमान गरेको छ । यी सबै जोड्दा कुल अनुमानित आय ५३ करोड ९२ लाख ५८ हजार हुन्छ ।
व्ययतर्फ चालु व्ययतर्फ ९ करोड भने पूँजीगत तथा कार्यक्रमतर्फ ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ छुट्याइएको छ । सामाजिक विकास क्षेत्र (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५ करोड, आर्थिक विकास (स्थानीय सडक, पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा सञ्चार) तर्फ ११ करोड ४४ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।
यस्तै वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ १ करोड, समपूरक १ करोड ९ लाख, सशर्त कार्यक्रमका लागि २१ करोड ८९ लाख गरी कुल ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ ।
कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने, आर्थिक गतिविधि एवं विकास निर्माणको कामलाई तीव्रता दिने, नगरपालिकाको लोक कल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने, सार्वजनिक स्रोत साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै उत्पादनशील नगरपालिका घोषणा गर्ने उद्देश्य नगरपालिकाले लिएको छ । नगरपालिकाले केन्द्र र प्रदेश सरकारहरुले जस्तै कर्मचारीलाई खुशी पार्न कार्यक्रम ल्याएको छ । नगरपालिकामा कार्यरत कर्मचारीको स्थानीय प्रोत्साहन भत्ता कार्य सम्पादनको आधारमा उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ । रोजगारी सृजना गर्न सरोकारवालासँगको सहकार्य र समन्वयमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकता दिइने, गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमलाई नगरपालिका अनुकूल परिमार्जन गरी विपन्न परिवारलाई रोजगारीको अवसर सृजना गर्ने नीति सिम्रौनगढ नगरपालिकाले लिएको छ ।
यसैबीच आदर्श कोतवाल गाँउपालिकाको सातौ गाँउसभाको एक कार्यक्रमकाबीच गाँउपालिका अध्यक्ष मुस्तफा अँसारीले उदघाटन गर्नुभएको छ । उद्घाटन सभालाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष मुस्तफाले पालिकाको बिकासका लागि आफु सदैव लागी परेको बताउनुभयो । ‘आदर्श कोतवाल गाँउपालिकाको सान, समृद्ध पालिका सुखी जनता हाम्रो अभियान,’ बेरोजगारलाई आय, समतामुलक न्याय, अर्थपुर्ण आवद्धता आदर्श कोतवालको प्रतिवद्धता’ भन्ने नाराका साथ आफुहरु अगाडि बढ्ेको गाँउपालिका अध्यक्ष अँसारीले बताउनुभयो ।
आदर्श कोतवाल गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिद्युत, पुल, कलर्भट, सडक निर्माण, वृक्षारोपणलगायतका योजनाहरुको काम प्रभावकारी रुपमा अगाडि बढेको अध्यक्ष अँसारीले बताउनुभएको छ । आदर्श कोतवाल गाँउपालिका बिकासको दृष्टिकोणले मध्यम स्तरको भएता पनि सम्भावनाको हिसाबले प्रचुर रहेको पनि उहाँले बताउनुभएको छ ।
यसैगरी गाँउसभाबाट आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित ४३ करोड ७० लाख २६ हजार ३ सय ५ रुपैयाको बजेट गाँउपालिकाको उपाध्यक्ष पुनम देबीले प्रस्तुत गर्नुभएको थियो । बितिय सामन्यीकरण अनुदान १० करोड ७१ लाख, राजस्व बाडँफाँड ६ करोड ८८ लाख, ससर्ततर्फ १४ करोड ६२ लाख, विषेश अनुदान ५० लाख समपुरक अनुदान ३ करोड ४२ लाख, प्रदेश सरकारतर्फबाट बित्तिय सामन्यीकरण ७१ लाख ८६ हजार, विषेश अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन बाँडफाँडतर्फ २५ लाख ४० हजार ३ सय ५ रुपैया, आन्तरिक स्रोतबाट ६ करोड १० लाख बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा गाँउपालिकाको कार्यकारी अधिकृत प्रमोद साहले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरु, कर्मचारी र पत्रकारलगायतको सहभागिता रहेको थियो ।