काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभरजसो २७ सय अंकमाथि रहेको नेप्से बजार बन्द हुँदा भने २६९० अंकमा झरेको हो ।
शुक्रबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५.४५ अंकले घटेको छ । कारोबारका क्रममा दिउँसो साढे १२ बजे नेप्से २७१२ अंकसम्म पुगेको थियो । बिहीबार भने परिसूचक ३१ अंक बढेर २६९५ अंकमा बन्द भएको थियो ।
बजार घटे पनि कारोबार रकम भने पछिल्लो सात महिनायताकै उच्च भएको छ । शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यसअघि वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ भने आठ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा विकास बैंक सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत बढेको छ । निर्जीवन बीमा, व्यापार र अन्य समूहमा पनि सामान्य वृद्धि देखिएको छ ।
बेनिघाट हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । स्वाभिमान लघुवित्त १२.११ प्रतिशत, लुम्बिनी विकास बैंक ७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंक ६.६४ प्रतिशतले बढेका छन् ।
यता मेन्छियाम हाइड्रोपावरको मूल्य ४.०८ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ३.७८ प्रतिशत र सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन् ।
















