पुष्पराज खतिवडा

मनहर्वा,बीमा कम्पनीबाट क्षेतिपूर्ति दिलाउन फर्जी कागजपत्र तयार पारेर रकम भुक्तानी दिएको आरोपमा बारामा बीमा कम्पनीका एकजना कर्मचारी पक्राउ परेका छन् । एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय कलैयाका प्रमुख जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुर निवासी सोनालाल सहनीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।कलैया उपमहानगरपालिका वडा नम्बर २६ का नाथु देवानले बीमाबाट पैसा लिन आफूले हत्या गरेकी श्रीमती हजरा खातुनको दुर्घटनामा मृत्यु भएको भनेर कागजपत्र तयार पार्न र रकम भुक्तानीमा सहयोग गरेको आरोपमा प्रहरीले कम्पनीका शाखा प्रमुख सहनीलाई पक्राउ गरेको हो । सो घटनामा प्रहरीले यसअघि नै देवानसहितका ३ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी र अर्का एकजनालाई पक्राउ गरेको हो । पक्राउ परेका अर्का एक जनाको कर्मचारीको नाम भने अहिलेसम्म पनि प्रहरीले गोप्य नै राखेको छ ।घटनामा हालसम्म बीमा कम्पनीको कलैया शाखा प्रमुख सहनीसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको र अनुन्धान जारी रहेको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले जानकारी दिनुभयो ।श्रीमती हजराको सवारी दुर्घटनामा मृत्यु भएको भनी फर्जी कागजात बनाएर बीमा रकम दावी गरेपछि कम्पनीले २०८० साल असारमा देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षेतिपूर्ति रकम भुक्तानी गरेको थियो । हजराकोे मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई निगरानीमा राखेको थियो ।बीमा कम्पनीबाट रकम बुझिसकेपछि देवानले आफूले श्रीमतीको घाँटीमा सलले बेरेर हत्या गरेको र दुर्घटनाको फर्जी कागजपत्र तयार पारेर रकम बुझेको भनी आफन्त र छिमेकीहरुलाई सुनाउदै हिडेको र गत साउन अन्तिम साता प्रहरीले उनलाई पक्राउ गरेको हो । देवानले फर्जी विवरण तयार पार्न र रकम दाबी तथा भुक्तानीमा बीमा कम्पनीका कर्मचारीहरुले नै सहयोग गरेको बताएका थिए ।देवानले ४० बर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयाबाट बीमा अभिकर्ता अन्सारीमार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा बीमा गराएका थिए । गत वर्ष भदौमा हजाराको शंकास्पद मृत्यु भएको थियो ।

 

Leave a Reply