वीरगन्ज,पाँण्डे पत्रकारिता पुरस्कारबाट पर्साकी संचारकर्मी अनिता कुँवरलाई प्रदान गरिने भएको छ । पर्सेली पत्रकार महिलाहरु मध्ये एकजना छनौट गरी स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यो वर्ष अनिता ( एनी ) कुँवरलाई प्रदान गर्ने निर्णय भएको हो । डेड दशकभन्दा लामो समयदेखि पर्साको रेडियो वीरगन्जमा कार्यरत पत्रकार महिला कुँवरलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा असार ४ गते बसेको बैठकले पुरस्कार वितरणका लागि पत्रकार सरोज खड्काको संयोजकत्वमा ५ सदस्य छनौट समिति बनाएको थियो । समितिले दिएको निर्णय अनुसार यो वर्षको पुरस्कार कुँवरलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ६ वर्ष अगाडि स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष असार ५ गते उनको पुण्य तिथिमा नै पुरस्कार वितरण गर्दै आएको थियो । यो वर्ष भने कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको निशेधाज्ञाले पुरस्कार वितरण मिति केही दिन धकेलिएको छ । निषेधाज्ञा हटेपछि आधिकारिक कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताउनुभयो । पुरस्कारका लागि विभिन्न मापदण्ड तयारी पारी पर्साका २८ पत्रकार महिलाहरु मध्येबाट छनौट गरिएको छनौट समितिका संयोजक खड्काले बताउनुभयो । प्रतिष्ठानले आफूहरुलाई दिएको जिम्मेवारी अनुसार छनौट प्रकृया टुँग्याइएको पर्साका अग्रज पत्रकार समेत रहनुभएका खड्काको भनाइ छ ।