—माया ठकुरी
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको समाचारले स्तब्ध बनायो । यो खबर थाहा पाउनेबित्तिकै किष्ट अस्पताल पुगेँ । उहाँलाई गुमाउँदा आफ्नै अभिभावक गुमाए जस्तो लाग्यो । अस्पतालमा राखिएको पार्थिव शरीर देख्दा अहिले नै जुरुक्क उठिहाल्नु हुन्छ कि भन्ने भयो । सहनै सकिन मैले । आइतबार बिहानैदेखि चारैतिर अध्यारो मात्रै लागेको छ । अभिभावक गुमाएझैं भएको छ । अत्यन्तै प्रिय मानिस गुमाए जस्तै लाग्यो । उहाँको निधनले दुःखी छौं ।
उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । हाम्रा लागि भगवान् सरह नै हुनुहुन्थ्यो । एकदमै निश्कलंक र स्वार्थरहित । दयालु मान्छे । नेपाल र नेपाली दुवै भाषालाई निष्ठापूर्वक माया गर्नुहुन्थ्यो । तीन पटकसम्म मदन पुरस्कार पाएको व्यक्ति भए पनि उहाँको हाउभाउ र कुराकानीमा कहिले घमण्ड झल्किएन । लोकभाका र लोकसंस्कृतिमा धेरै अनुसन्धान गर्नुभयो । साथै थुप्रै पुरस्कारले पुरस्कृत हुनुभयो ।
उहाँले मलाई एक दिन बोलाएर ‘तिम्रो छोरी अनुराधाले त अनुवाद गर्छ निरु! मेरो यो किताब अनुवाद गरिदिनु भन न’ भन्नुभयो । मैले छोरी एकदमै व्यस्थ छ भनेपछि उहाँले दामोदरलाई देउ न त भन्नुभयो । मैले घरमा गएर मेरो श्रीमान् दामोदर शर्मालाई यो कुरा भने । उहाँले ‘हाम्रो कति धेरै काम छ, अहिले भ्याइन्न कि’ भन्नुभयो । त्यसपछि मलाई कस्तो नरमाइलो लाग्यो । मैले पुस्तक लगेर ‘उहाँहरू दुवै जना व्यस्थ हुनुहुन्छ रे भनेर’ फिर्ता गरिदिएँ । उहाँले अनुहार अध्यारो पारेर ठीकै छ नि भन्नुभयो । तर, म अरुबाट गराउँदिन भन्नुभयो । घर गएपछि मेरो श्रीमान्ले खै त दाइको किताब भनेर सोध्नुभयो । ‘मैले त पु¥याइदिएँ भन्दा तिमी बाठी भएर किन पु¥याएको त फेरि ल्याउ’ भनेर श्रीमान रिसाउनुभयो ।
म केटाकेटी जस्तै फेरि गएर उहाँलाई दामोदरले त यस्तो भन्नुभयो भने । पछि मेरो श्रीमान्ले त्यो किताब पढ्नुभयो र समय लगाएर राम्रोसँग अंग्रेजीमा अनुवाद गर्नुभयो । अरनिकोेको बारेमा रहेको उक्त कृतिको नाम ‘अरनिको श्वेत चैत्य’ हो । कृतिलाई ‘म छाप्छु’ भन्दै धेरै प्रकाशकहरू आए । तर, श्रीमान्ले दिनुभएन । आफैं छाप्नुभयो । यसको पैसा पनि लिन मान्नुभएन । यो मेरो बुबाका लागि एउटा भेट हो भन्नुभयो । किताब छापिएपछि उहाँ निकै खुसी हुनुभयो । यो त उहाँको लागि हाम्रोतर्फबाट सानो भेट मात्र थियो । तर, उहाँले देश र नेपाली संस्कृतिका लागि जुन त्याग गर्नुभएको छ त्यो बिरलै मानिसले गरेका छन् । उहाँ देवता नै होभन्दा हुन्छ । निश्वार्थ रूपमा सबैलाई समान रूपले व्यवहार गर्ने व्यक्ति हो ।
उहाँ यति सरल ब्यक्ति कि कसैलाई पनि उहाँले लोलोपोतो गरेर बोल्नुहुन्नथ्यो । ठाडो थियो बोली त । तर, त्यो ठाडो बोलिमा यति धेरै माया र स्नेह थियो । आफ्नो पिताले सन्तानलाई गरे जस्तै । उहाँको अनुहार मात्र देख्न पाए वा उहाँको छेउमै मात्र बस्न पाए पनि आफूलाई कति शान्ति महसुस हुन्थ्यो ।
जीवनभर यति संघर्ष गर्ने ब्यक्तिले आफ्ना लागि के लाभ लिनुभयो र ? पछि गएर मात्र उहाँलाई महानगरले केही सुविधा दियो । यति ठूलो विद्वान् हुँदा पनि सानो झुपडीमा दुःख सहेरै बस्नुभयो । कहिले पैदल हिँड्ने त कहिले ट्याक्सी पक्रिएर जानुहुन्थ्यो । कतिपल्ट उहाँ एकेडेमी आउँदा पानी परिरहेको हुन्थ्यो । उहाँले बोक्नुभएको प्रशंसापत्र मलाई दिनु न म बोक्छु भनेर बोकिदिन्थे । सँगै जाउँ न भनेर भन्थें । एक दुई पल्ट त घरमा पु¥याएँ । तर, उहाँ प्रायः मान्नुहुन्न थियो । होइन माया म सक्छु भन्नुहुन्थ्यो ।
१०३ वर्ष उमेरसम्म उहाँको त्यो सक्रियता हामी सबैका लागि एउटा प्रेरणा हो । उहाँले जीवनभर आफ्ना लागि भनेर केही माग्नुभएन । उल्टै आफ्नो शरीरसमेत दान दिनुभयो । यस्तो महापुरुषको देहवशानको समाचार सुनेदेखि निकै खल्लो लागेको छ । रुन मात्र मन लाग्छ । आँखाबाट आँशु थामिँदैन । जुन विषयमा पनि उहाँ त्यत्तिकै ज्ञाता हुनुहुन्थ्यो । सभासमारोहमा जाँदा उहाँले बोलेका विषय सुन्दा त्यो कुरा प्रष्ट हुन्थ्यो । अरनिकोको विषयमा आफ्नो किताब अन्तर्राष्ट्रिय रूपमै फैलियोस् भन्ने उहाँको चाहना रहेछ । अब हामीले त्यो काम पनि गर्नै पर्छ । सभार ःः अन्नपूर्णपोष्ट















