जनकपुरधाम

तत्कालीन संविधानसभा सदस्य सञ्जय साहलाई दोब्बर जन्मकैदको फैसला सुनाइएको छ । जनकपुरधामको सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्ड र पांच जनाको मृत्यु हुनेगरी गराइएको जनकपुर रामानन्द चोक बम काण्डको मुद्दामा उनलाई जन्मकैदको फैसला सुनाइएको हो ।
सञ्चार उद्यमी सिंघानियाको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ । बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।
०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्वमन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो । जिल्ला अदालतले सञ्जय र मनक लामालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस्तै रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनी, चन्द्रदीप यादव र पवन लामालाई १० वर्ष कैद सजाय फैसला सुनाएको थियो । सोही फैसलालाई उच्च अदालतले सदर गरेको हो ।
जाहेरीवालाको तर्फबाट सरकारी वकिल कार्यलयबाट सहन्यायाधीवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेमबहादुर कार्की र राजलाल यादवले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेका थिए । २०६६ साल फागुन १७ गते होलीका दिन सिंघानियाको गोली हानी हत्या भएको थियो ।
बम काण्डमा पनि जन्मकैद
यसअघि जनकपुरधामको रामानन्द चोकमा १० वर्षअघि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजय ‘टकला’ भनिने संजय कुमार साहलाई जन्मकैद सजाय सुनाएको थियो । रामानन्द चोकमा २०६९ साल बैशाख १८ गते भएको शक्तिशाही बम विष्फोट काण्डमा हत्या तथा हत्या प्रयासमा दर्ता गरिएको मुद्दाको फैसला सुनाउदै धनुषा जिल्ला अदालतले साहलाई जन्मकैदको फैसला सुनाएको थियो ।
हत्या मुद्दामा साहसंगै तत्कालीन भूमिगत समूहका नाइकेहरु अर्जुन सिंह भनिने मुकेश चौधरी र राजन मुक्ति भनिने रंजित झा, जयप्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई जन्मकैद सजाय गरिएको छ । उनीहरु सबैमाथि माथि ज्यान मार्ने उद्योग अन्तर्गत जनही १२ बर्षको सजाय कैद ठहर गरेको थियो ।
त्यसैगरी अन्य प्रतिवादी ओम प्रकाश यादवलाई हत्या अभियोगमा १० वर्ष र हत्या प्रयासमा ५ वर्ष कैद गरी १५ वर्ष सजाय गरिएको थियो । २०६९ साल बैशाख १८ गते गराईएको शक्तिशाली बमकाण्डमा परेर रन्जु झा, दिपेन्द्र दास कथबनिया, सुरेश उपाध्याय, विमल शरण गरी ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद सञ्जयसंग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको संलग्नता भएको खुलेको थियो । घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो । चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए । तर पछि उच्च अदालतले जन्मकैदको फैसला उल्टाउंदै ७ वर्ष कैदको सजाय सुनाएको थियो ।

















