वीरगन्ज,गाँउभरि नै कोरोना संक्रमण फैलिएको पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ चिलझप्टीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल नहुदा उक्त गाउँ र आसपासका स्थानीय त्रसित भएका छन् । पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परीक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना चिलझप्टी गाउँकै बासिन्दा हुन् । चिलझप्टीका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकार गर्नुभयो । गाउँपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाउँमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो । त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परीक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो । साहका अनुसार चिलझपटीमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरुको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । चिलझप्टी गाउँका घरघरमा संक्रमण फैलिसकेको भएपनि भिटिएम किट नहुदा थपको परिक्षण हुन नसकेको साहले बताउनुभयो । चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँको घर घरमा पुगेर तापक्रम जाँच्दा ज्वरो र रुघाखोकीका १७६ जना बिरामी फेला पारेको थियो । गाउँभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परीक्षण कार्य शुरु नगरिए गाउँको अवस्था झन भयावह बन्ने साहको भनाइ छ ।
चिलझप्टीमा अहिलेसम्म संक्रमण पु्ष्टि भएका २२ जना संक्रमितहरु घरकै आइशोलेसनमा रहेको साहले जानकारी दिनुभयो । जगरनाथपुर गाउँपालिकाले आफना पालिकाका संक्रमितको उपचारका लागि ३० किलोमिटर दुरीमा रहेको वीरगस्थित होटल साह दरबारमा २५ शैयाको आइशोलेसन सेन्टर बनाएको छ । तर उक्त आइशोलेसन सेन्टर खाली छ । गाउँका संक्रमितहरु वीरगन्जको होटलमा बनाइएको आइशोलेसन सेन्टरमा जानै नमानेको साहले बताउनुभयो ।
जगरनाथपुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्दिप पटेलले पनि किटको अभावले चिलझप्टी गाँउमा कोरोना संक्रमणको थप परीक्षण हुन नसकेको स्वीकार्नुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयले आइतबार २५ वटा भिटिएम किट दिन भनेको थियो । तर आइतबार गाउँपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य कार्यालयमा पुग्दा २÷३ दिनपछि आउनु भनेर फर्काइ दिएको पटेलले बताउनुभयो । त्यसपछि गाउँपालिका आफैले २ सय एन्टिजेन किट खरिदका लागि प्रकृया थालिसकेको पटेलले जानकारी दिनुभयो ।
वीरगन्जको सप्लायर्सले काठमाण्डौबाट मगाएर मंगलबार बिहानसम्म किट दिने भनेकाले किट आउने बित्तिक्कै चिलझप्टी गाउँमा परीक्षण शुरु गरिने पटेलले बताउनुभयो । स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने स्वास्थ्य कार्यालयले जगरनाथपुरका गाउँपालिका स्वासथ्य शाखाका कर्मचारीलाइ नारायणी अस्पतालमा आएर २५ वटा भिटिएम किट लिएर जान भनेकोमा कोहि पनि सम्पर्क गर्न नआएको बताउनुभयो ।