नरेश गुप्ता
बरियारपुर,नेपाली कांग्रेसलाई गोलबद्व र एकताको सुत्रमा बाधेर महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने कांग्रेश नेता एंव पूर्वसांसद राधेचन्द्र यादवले बताउनुभएको छ ।
महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार उपेन्द्रप्रसाद यादवसंगको भेटघाट कार्यक्रममा पूर्वसांसद यादवले नेपाली कांग्रेस लोकतान्त्रिक एव प्रजातान्त्रिक पार्टी भएकोले विधि र विधान अनुसार चल्नु पर्ने बताउदै पार्टीभित्र योगदान गर्ने नेता र कार्यकर्तालाई प्राथमिकतामा राखेर पार्टीले अगाडि बढाउदै आएको पनि बताउनुभयो ।
नेपाली कांग्रेस पार्टीभित्र बिगतका दिनमा देखिएको मनमुटाव र विभेदलाई अगामी दिनमा सुधार गर्दै कांग्रेसलाई गोलबन्द पार्ने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पालिकामा उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई जिताउन लागि पर्न सबै कार्यकर्ताहरुसंग उहाँले आग्रह पनि गर्नुभएको थियो । महागढीमाई नगर प्रमुखमा नेपाली कांग्रेसबाट प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी गर्नु भएको उपेन्द्रप्रसाद यादव र उपप्रमुख तारादेबी कानुलगायत पार्टीका सबै उम्मेदवारहरुलाई बिजयी गराउन पूर्वसा्सद यादवले आग्रह गर्नुभयो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले सबैको आस्था र बिश्वासलाई ध्यानमा राखेर काम गर्ने पनि नेता यादवले बताउनुभयो ।
महागढीमाईमा नगर प्रमुखको लागि यसपटक नेपाली कांग्रेसबाट गत निर्वाचनमा बिजयी हुनुभएका उपेन्द्र यादवसहित नेकपा एमालेबाट राजाबाबु साह, नेकपा माओवादी केन्द्रका रामबाबु यादवबीच त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । महागढीमाई नगरपालिकाको भौतिक पुर्वाधार, सार्वजनिक मठ मन्दिर, शिक्षा, स्वास्थ्य, प्राविधिक नमुना विद्यालय, कृषि क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्न तथा महागढीमाई नगरपालिकालाई आफ्नो कार्यकालमा अधुरा रहेका सुर्य मन्दिर, सुपर मार्केट जस्ता योजनाको काम तीव्र गतिमा अगाडि बढाउन फेरि पनि आफू नै विजयी हुनुपर्ने नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र यादवले बताउनुभयो ।
नेपाली कांग्रेस महागढीमाईमा एक्कलै चुनाव लड्ने र सोही अनुसार आफ्नो चुनावी गतिविधि अगाडि बढाएको पनि नगर प्रमुख पदका प्रत्यासी यादवले जानकारी दिनुभयो ।