काठमाण्डौ – बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलवार काठमाण्डौबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शाहलाई पक्राउ गरिएको ब्युरो प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यले जानकारी दिनुभयो ।शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।यसै प्रकरणमा मंगलवार नै शाहसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका छन् ।

















