नेपाल कम्युष्टि पार्टी (नेकपा) विघटन भएर पनि फेरि एमाले पार्टी खडा भएपनि एमाले आत्मीय रुपमा एक हुन सकेकोछैन । बरु एमालेभित्र तीव्र विवाद र आक्रोश छ जसका कारण एमाले पार्टी फेरि जन्मिए पनि त्यसले मुर्तरुप लिन भने सकेको छैन । यो अर्थमा यतिबेला एमाले स्थापना हुनु र नहुनुको अर्थ देखिएको छैन ।
एमालेलाई सर्वोच्च अदालतले स्थापना त गरिदिएको छ तर पनि सोचे जस्तो पार्टी एक हुन सकेको छैन । र लगभग फुटको संघारमा पुगेको एमाले बचाउन सकिन्छ कि भन्ने एक थरी नेताको दौडधुप सहितको प्रयास जारी पनि छ । नेकपा एमाले पार्टी माधव नेपाल र केपी ओलीको मात्रै होइन । यो पार्टी निर्माण देशभरिका कार्यकर्ता हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको श्रम र पसिना बगेको छ । हुनत, आजको अवस्था हेर्दा पत्याउन गाहे पर्छ तर कुनै समय एमाले देशको सबै भन्दा एकतावद्ध, प्रतिवद्ध र अनुशासित कार्यकर्ता भएको पार्टीकोे रुपमा चिनिन्थ्यो । उनीहरुमा देश र जनताको लागि केही गर्नुपर्छ भन्ने भावना र जोस, जाँगर पनि पाइन्थ्यो । तर नेतृत्व तहका केही नेतामा देखिएको विवादका कारण अहिले पार्टी फुटको अवस्थामा छ र कार्यकर्ताहरु निराश र निरिह बनेका छन । तर पनि पार्टीमा अहिले पनि तिनै कार्यकर्ताहरु छन जसले पार्टीलाई अलग्गै पहिचान दिएका थिए । पार्टी एकताको लागि तिनै कार्यकर्ताले अब नेतृत्वमाथि दवाव सृजना गर्न ढिला भइसकेको छ । त्यसैले पनि एमाले बचाउनु सबै कार्यकर्ताको कर्तव्य हो ।
पार्टी एकताको लगि दोश्रो, तेश्रो जति तहका नेताहरु छन् सबैले प्रयास गर्नु पर्दछ । मुलुकको समग्र बिकासका लागि पनि एमालेमा विभाजन आउन हुन्न तर यसका लागि सबै भन्दा बढी केपी ओली र माधव नेपालले सोच्नु पर्दछ । सत्ता नै सबैथोक होइन तर सत्तामा पुगेपछि सबै बिर्सने प्रवृत्ति अन्त्य होस् ।