काठमाडौं, २९ भदौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ।
यसअघि राजनीतिक संक्रमणको अवस्थाका कारण नोट वितरण हुने नहुने अन्योल भएपनि, तोकिएको समयमै नोट सटही हुने भएको छ।
ग्राहकहरूले राष्ट्र बैंकका तोकिएका कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सटही गर्न सक्नेछन्।
काठमाडौँ । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने ।
दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ । साभार : रातोपाटी



















